चार कम्पनीले दिए आईपीओ निष्काशनको लागि निवदेन, ६६ अर्बभन्दा धेरैको शेयर पाइपलाइनमा
- BFIS News
- 2026 May 04 18:45
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो तथ्यांकअनुसार वैशाख महिनायता विभिन्न क्षेत्रका चार नयाँ कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि निवेदन दर्ता गराएका छन्। बोर्डमा दर्ता भएका यी प्रस्तावहरू होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रसँग सम्बन्धित छन्।
होटल तथा पर्यटन क्षेत्रतर्फ डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड ले १६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासनका लागि आवेदन दिएको छ। उक्त कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, केटीएम हस्पिटालिटी लिमिटेड ले १५ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि प्रस्ताव पेश गरेको छ, जसको निष्काशक तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड तोकिएको छ।
उत्पादन तथा प्रशोधन क्षेत्रअन्तर्गत भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड ले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीले प्रति कित्ता २ सय ३३ रुपैयाँ दरले शेयर जारी गर्ने प्रस्ताव गरेको छ र यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। साथै, एशियन कन्क्रिटो लिमिटेड ले १० लाख ६२ हजार ५ सय कित्ता साधारण शेयर निष्कासनका लागि आवेदन दर्ता गराएको छ, जसको बिक्री प्रबन्धक पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै हो।
सेबोनका अनुसार हाल बोर्डको पाइपलाइनमा कुल ४४ करोड २१ लाख ७२ हजार १३२ कित्ता शेयर निष्कासनको प्रक्रिया अघि बढिरहेको छ। यी प्रस्तावित शेयरहरूको कुल मूल्य करिब ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर हुने जनाइएको छ।
बोर्डले कम्पनीहरूले पेश गरेका विवरण, वित्तीय अवस्था तथा कानुनी कागजातहरूको विस्तृत अध्ययनपछि मात्र आवश्यक मापदण्ड पूरा भएका प्रस्तावहरूलाई अन्तिम स्वीकृति दिने बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया