एभरेष्ट बैंकमा ११४ जनाका लागि आवेदन खुला
- BFIS News
- 2026 May 05 12:38
काठमाडौं । एभरेष्ट बैंकले विभिन्न शाखा तथा कार्यालयहरू (काठमाडौं उपत्यका बाहिर) का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले योग्य, ऊर्जावान र आत्मप्रेरित नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। बैंकले ‘कस्टमर सर्भिस एसोसिएट’ र ‘म्यानेजमेन्ट ट्रेनी’ पदका लागि कुल ११४ जनाको माग गरेको जनाएको छ।
कस्टमर सर्भिस एसोसिएट (CSA-2082/83)
यस पदका लागि ९९ जना माग गरिएको छ। न्यूनतम योग्यता १०+२ वा सो सरहमा कम्तीमा ६० प्रतिशत अंक वा सीजीपीए २.८ हुनुपर्नेछ। स्नातक तह उत्तीर्ण उम्मेदवारका लागि ६० प्रतिशत वा सीजीपीए ३.० आवश्यक छ।
उम्मेदवारको उमेर २०८३ साल वैशाख मसान्तसम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारका लागि अधिकतम उमेरमा ५ वर्षसम्म छुट दिइनेछ। सम्बन्धित प्रदेशको स्थायी बासिन्दालाई प्राथमिकता दिइने बैंकले जनाएको छ। छनोट प्रक्रिया अन्तर्गत छोटो सूचीमा परेका उम्मेदवारलाई लिखित परीक्षा र अन्तर्वार्तामा सहभागी गराइनेछ।
म्यानेजमेन्ट ट्रेनी (MT-2082/83)
यस पदका लागि १५ जना माग गरिएको छ। मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वित्त, कम्प्युटर एप्लिकेसन, मानव संसाधन वा सो सरह विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी न्यूनतम प्रथम श्रेणी वा सीजीपीए ३.३० हासिल गरेको हुनुपर्नेछ। साथै मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेकाहरू पनि आवेदन दिन सक्नेछन्।
उम्मेदवारको उमेर वैशाख मसान्तसम्म ३० वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारलाई ५ वर्षको उमेर छुट व्यवस्था गरिएको छ। छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा, समूह छलफल र अन्तर्वार्ता समावेश हुने जनाइएको छ।
बैंकले कुनै पनि आवेदन कारण नखुलाइ अस्वीकृत गर्ने अधिकार राखेको जनाएको छ। भर्ती प्रक्रियामा कुनै पनि प्रकारको प्रभाव पार्ने प्रयास (क्यान्भासिङ) गरेमा उम्मेदवार स्वतः अयोग्य ठहरिनेछन्। अन्तिम छनोटपछि आवश्यकताअनुसार एक वर्षभित्र चरणबद्ध रूपमा नियुक्ति गरिने जानकारी दिइएको छ।
इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते (मे १९, २०२६) भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि Merojob मार्फत प्रक्रिया पूरा गर्न सकिनेछ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया