नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम
- BFIS News
- 2026 May 05 21:12
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवको अवसर पारेर देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले नि:शुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो।
कम्पनीले २०८३ वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको उक्त शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल, यूरिक एसिड लगायतका परीक्षणहरू नि:शुल्क गरिएको थियो। साथै, विशेषज्ञ चिकित्सकहरूबाट परामर्श सेवा समेत उपलब्ध गराइएको थियो। दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

यसैबीच, कम्पनीले सातै प्रदेशका १३ स्थानमा एकसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३० पिन्ट, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५ पिन्ट, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२ पिन्ट रगत संकलन गरिएको छ। त्यस्तै, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको छ। यसरी देशभरबाट कुल ५०५ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

“किनकि, जीवन अमूल्य छ!” भन्ने नारालाई आत्मसात् गर्दै कम्पनीले नेपालीहरूको भविष्य सुरक्षित, सुनिश्चित र समृद्ध बनाउने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ। करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले विगत २५ वर्षमा करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्न सफल भएको दाबी गरेको छ। देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्ताहरू मार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने अध्यक्ष, सञ्चालक, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि सबै पक्षबाट यस्तै माया, विश्वास र सहकार्य प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया