NIMB Header 2
Nepal Life

गमगढी–नाक्चेलाग्ना सडक निर्माण सुस्त, दशकमा १८ किलोमिटरमै सीमित

NMB Bank
  • BFIS News
  • 2026 May 02 12:23
गमगढी–नाक्चेलाग्ना सडक निर्माण सुस्त, दशकमा १८ किलोमिटरमै सीमित
United Ajod

सुर्खेत।  कर्णाली प्रदेशलाई चीनसँग जोड्ने रणनीतिक महत्वको गमगढी–नाक्चेलाग्ना सडक निर्माण अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेको छ।

Shikhar
Nepal Life
NIMB

निर्माण सुरु भएको करिब एक दशक बितिसक्दा पनि सडकको प्रगति सीमित रहेकाले क्षेत्रीय व्यापार र आवागमन विस्तारको लक्ष्य प्रभावित भएको देखिएको छ।

मुगुको सदरमुकाम गमगढीदेखि चीनको सिमानास्थित नाक्चेलाग्नासम्म ९३ किलोमिटर लामो सडक निर्माण २०७२/७३ देखि सुरु गरिएको थियो। तर हालसम्म करिब १८.५ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ। प्रारम्भिक विस्तृत अध्ययन भने आर्थिक वर्ष २०६२/६३ मै सम्पन्न गरिएको थियो।

आयोजनाको प्रगति सुस्त हुनुमा दुर्गम भौगोलिक अवस्था, कडा चट्टानी भू–भाग तथा अपर्याप्त बजेट प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षभित्र सडकको ट्र्याक २४ किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार गमगढी–नाक्चेलाग्ना खण्डअन्तर्गत पर्ने कडा चट्टान क्षेत्रमा २२० मिटर भागमा ब्लास्टिङ सुरु गरिएको छ। जोखिमपूर्ण भीर क्षेत्रमा काम गर्न नेपाली सेनासँग समन्वय गरी विस्फोटनमार्फत मार्ग विस्तार थालिएको हो। यसले निर्माण कार्यमा केही तीव्रता आउने अपेक्षा गरिएको छ।

विगतका केही वर्षमा बजेट अभावका कारण आयोजना ओझेलमा परेको थियो। आर्थिक वर्ष २०७८/७९ मा करिब ४ करोड ९३ लाख रुपैयाँ र २०७९/८० मा ४ करोड ४० लाख रुपैयाँ खर्च भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले १५ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेपछि काम पुनः सक्रिय बनाइएको छ।

हालसम्म खोलिएको सडक खण्डलाई क्रमशः ग्राभेल गर्ने कार्यसमेत भइरहेको छ। यस वर्ष थप करिब ६ किलोमिटर ट्र्याक विस्तार गर्दै झन्डै २५ किलोमिटरसम्म ग्राभेल सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो सडक कर्णालीलाई चीन र भारतसँग जोड्ने दीर्घकालीन योजनाअन्तर्गत महत्वपूर्ण मानिन्छ। नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा हुँदै तिब्बत जोड्ने कर्णाली करिडोर र नेपालगन्ज–जाजरकोट–डोल्पा हुँदै तिब्बत जोड्ने भेरी करिडोरसँग यस सडकको सम्बन्ध छ। तर यी दुवै करिडोरको निर्माण पनि अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

नाक्चेलाग्ना नाकाबाट स्थानीय बासिन्दाले सीमापार हाटबजारमा दैनिक उपभोग्य सामग्री किनबेच गर्दै आएका छन्। तर सडक सुविधा नहुँदा व्यापार ढुवानीका लागि घोडा, खच्चर र चौरी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। सडक निर्माण सम्पन्न भए नेपाल–चीनबीच व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सरकारले त्रिदेशीय व्यापार विस्तारका लागि जमुनाहादेखि सुर्खेत, कर्णालीका विभिन्न जिल्लामार्फत चीनको सिमानासम्म सडक विस्तारलाई प्राथमिकतामा राखेको छ। गमगढी–नाक्चेलाग्ना सडक पूर्णरूपमा सञ्चालनमा आए हालको कर्णाली राजमार्गभन्दा करिब ७९ किलोमिटर छोटो मार्ग उपलब्ध हुने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया