बजेटअघि नेप्सेमा उतार–चढाव, लगानीकर्ता अझै ‘पर्ख र हेर’ रणनीतिमा
- BFIS News
- 2026 May 22 15:12
काठमाडौँ । बजेट सार्वजनिक हुने मुखमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको उतार–चढावले समग्र शेयर बजारलाई पुनः अनिश्चितताको घेरामा पु¥याएको छ । पछिल्ला दिनहरूमा बजार लगातार घटबढको चक्रमा घुमिरहँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा बस्न बाध्य भएका छन् । हिजो राताम्य देखिएको बजार आज सामान्य सुधारतर्फ फर्किए पनि समग्र बजार मनोबल अझै कमजोर देखिएको छ ।
कारोबार रकममा केही सुधार देखिए पनि बजार गतिविधि अपेक्षाकृत सुस्त बनेको छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार अहिले घटेर करिब २ देखि ३ अर्ब रुपैयाँको सीमामा खुम्चिएको छ । यसलाई बजारमा लगानीकर्ताको सहभागिता र सक्रियता कमजोर बन्दै गएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।
सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । लगानीकर्ताले नीतिगत सुधार र स्थायित्वको अपेक्षा गरे पनि व्यवहारिक रूपमा ठोस परिवर्तन नदेखिँदा सुरुमा देखिएको उत्साह क्रमशः हराउँदै गएको छ । नयाँ खरिद चासो सीमित बन्दै जाँदा बजारमा माग पक्ष कमजोर बनेको विश्लेषण गरिएको छ ।
यसैबीच, पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप अनिश्चितता सिर्जना भएको छ । यसले लगानीकर्ताको विश्वासमा असर पार्दै जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको देखिन्छ । राजनीतिक तथा नियामक अनिश्चितताले पनि बजारलाई थप संवेदनशील बनाएको विश्लेषकहरूको भनाइ छ ।
यद्यपि, दीर्घकालीन आधार भने पूर्ण रूपमा कमजोर देखिँदैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु तथा आर्थिक गतिविधि विस्तार हुने संकेतले आगामी दिनमा बजारलाई केही समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन १२ उपसूचकमा सुधार आएको छ भने व्यापार समूह मात्रै घटेको छ । आज २०३ कम्पनीको शेयर मूल्य बढ्दा ५७ कम्पनीको घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया