३२ औँ वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकका सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 May 22 15:18
काठमाडौं । महालक्ष्मी विकास बैंक ले जेठ ७ गते ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि ७ गतेसम्म विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै वार्षिक उत्सव मनाएको छ ।
वार्षिकोत्सव अन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषण सेवासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
त्यसैगरी, जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा करिब २०० जनाको स्वास्थ्य, आँखा तथा दाँत परीक्षण गरिएको बैंकले जनाएको छ ।
यसै अवसरमा बैंकले जेठ ६ गते देशभरका विभिन्न प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । रक्तदान कार्यक्रममार्फत २०० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीका रूपमा रहेको रगत व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।
सोही दिन बैंकले संस्कृति प्रवर्द्धन तथा मन्दिर सरसफाइलाई प्राथमिकतामा राख्दै विभिन्न स्थानका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ । साथै ललितपुरको महालक्ष्मीस्थानस्थित महालक्ष्मी मन्दिर मा बगैंचा प्रवर्द्धन, मर्मतसम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनका लागि सहयोग गरेको जनाएको छ ।
बैंकले जेठ ७ गते केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत कर्मचारीहरूलाई स्थानीय भेषभूषामा उपस्थित गराई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रम समेत आयोजना गरेको थियो । सोही दिन नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समिति लाई खानेपानी व्यवस्थापनका लागि पानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।
यसैबीच, प्रत्येक वर्ष अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना हुँदै आएको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता” अन्तर्गत संकलित तस्वीरहरू बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ । स्थानीय साना तथा मझौला व्यवसायको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको बैंकले जनाएको छ ।
त्यस्तै, विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको “महालक्ष्मी कर्पोरेट क्रिकेट” प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेठ महिनाभित्र आयोजना गरिने बैंकले जानकारी दिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया