मेरो बचत, तपाईंको कर्जा
- BFIS News
- 2026 May 23 19:22
काठमाडौं। बैंक,लघुवित्त,सहकारी संस्थाहरूको मुख्य आधार भनेकै सर्वसाधारण नागरिकको बचत हो। मानिसहरूले आफ्नो दैनिक आम्दानीबाट केही रकम भविष्यको आवश्यकता, आपतकालीन अवस्था, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार तथा सुरक्षित भविष्यका लागि बचत गर्ने गर्दछन्। यही सानो–सानो बचतको संकलनबाट वित्तीय संस्थाहरूले आवश्यक परेका व्यक्ति तथा व्यवसायीलाई कर्जा प्रवाह गर्ने कार्य गर्दछन्।
त्यसैले बैंक,सहकारि, लघुवित्तबाट प्रवाह हुने कर्जा वास्तवमा संस्थाको मात्र रकम नभई हजारौँ बचतकर्ताको मेहनत, पसिना अनि भविष्यकाे याेजना हो।
जब कुनै व्यक्तिले बैंक,लघुवित्त वा सहकारि संस्थाबाट कर्जा लिन्छ, उनिहरुले केवल पैसा मात्र लिएको हुँदैन, उसले कसैको विश्वास र आशा अनि भबिष्यकाे याेजना पनि लिएको हुन्छ। बचतकर्ताले आफ्नो रकम सुरक्षित रहोस् र आवश्यक पर्दा सहज रूपमा फिर्ता पाउन सकियोस् भन्ने विश्वासका का साथ यी संस्थामा बचत गर्ने याेजना सहित अाफ्नाे कमाईकाे केही अंश जम्मा गरेकाे हुन्छन । त्यसैले कर्जा लिने प्रत्येक सदस्य तथा ग्राहकले आफूले लिएको रकमको महत्व बुझ्न आवश्यक छ।
कर्जा प्रवाहको मुख्य उद्देश्य व्यक्तिको आर्थिक अवस्था सुधार गर्नु, स्वरोजगार सिर्जना गर्नु, व्यवसाय विस्तार गर्नु तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनु , वित्तिय चलयमान गरि अर्थतन्त्रकाे गति बृद्वि गर्नु हो। कर्जा सदुपयाेगिताले परिवारको आयस्तर वृद्धि गर्न, जीवनस्तर सुधार गर्न तथा आर्थिक आत्मनिर्भरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ। तर कर्जाको सही सदुपयोग नभएमा तथा समयमै भुक्तानी नगर्दा व्यक्ति, परिवार र वित्तीय संस्था सबैलाई नकारात्मक असर पर्न सक्छ।
समयमै कर्जा भुक्तानी गर्नु प्रत्येक ऋणीको कानुनी तथा नैतिक दायित्व हो। नियमित रूपमा किस्ता तथा ब्याज भुक्तानी गर्ने बानीले व्यक्तिको वित्तीय अनुशासन कायम हुन्छ। साथै भविष्यमा पुनः आवश्यकता पर्दा सहज रूपमा थप वित्तीय सेवा प्राप्त गर्न पनि सहयोग पुग्छ। अर्कोतर्फ, कर्जा भुक्तानीमा लापरवाही हुँदा बचतकर्ताको रकम जोखिममा पर्न सक्छ, संस्थाको वित्तीय अवस्था कमजोर हुन सक्छ तथा अन्य सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न कठिनाइ हुन सक्छ।
वित्तीय संस्थामा बचत गर्ने व्यक्तिहरूले आफ्नो जीवनभरको कमाइको केही अंश सुरक्षित राखेका हुन्छन्। कसैले वैदेशिक रोजगारीबाट कमाएको रकम बचत गरेका हुन्छन् भने कसैले दैनिक ज्याला मजदुरी, कृषि, व्यापार वा सानो व्यवसायबाट बचत गरेका हुन्छन्। त्यसैले कर्जा लिने व्यक्तिले “मैले प्रयोग गरिरहेको रकम कसैको मेहनतको कमाइ हो” भन्ने भावना सधैँ मनमा राख्नुपर्छ।
बैंकिङ तथा लघुवित्त प्रणाली विश्वासमा आधारित प्रणाली हो।
बचतकर्ता, ऋणी र संस्था यी तीन पक्षबीच पारदर्शिता, जिम्मेवारी र इमान्दारिता कायम रहेमा मात्र वित्तीय प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ। एउटा जिम्मेवार ऋणीले समयमै कर्जा भुक्तानी गरेर केवल आफ्नो दायित्व मात्र पूरा गरिरहेको हुँदैन, उसले हजारौँ बचतकर्ताको विश्वासलाई सम्मान गरिरहेको हुन्छ।
आजको आर्थिक अवस्थामा वित्तीय अनुशासनको आवश्यकता झन् बढ्दै गएको छ। अनावश्यक खर्च नियन्त्रण गर्ने, आय अनुसारको योजना बनाउने, समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने बानीले व्यक्ति तथा समाज दुवैलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्दछ। अभिभावकले देखाएको आर्थिक अनुशासनले भावी पुस्तामा पनि सकारात्मक प्रभाव पार्दछ। घरपरिवारमा वित्तीय जिम्मेवारीको राम्रो संस्कार बसेमा भविष्यमा आर्थिक समस्या कम हुँदै जान्छ।
त्यसैले हामी सबैले बचतको सम्मान गरौँ, कर्जाको सही सदुपयोग गरौँ तथा समयमै भुक्तानी गर्ने संस्कार विकास गरौँ। किनकि एउटा व्यक्तिको बचत नै अर्को व्यक्तिको अवसर बन्न सक्छ। “मेरो बचत, तपाईंको कर्जा” भन्ने भावनालाई आत्मसात गर्दै जिम्मेवार वित्तीय व्यवहार अपनाउनु आजको आवश्यकता हो। यही वित्तीय अनुशासन, इमान्दारिता र आपसी विश्वासले समृद्ध समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
(लेखक खेम राज ओझा डिप्राेक्स लघुवित्तमा विगत लामाे समयदेखि अधिकृत पदमा कार्यरत हुनुहुन्छ)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया