NIMB Header 2
Nepal Life

अर्थमन्त्रीलाई जोडेर फैलाइएका अफवाहप्रति मन्त्रालय पक्षको आपत्ति, अनुसन्धान जारी रहेको स्पष्टिकरण

IME LIFE
  • BFIS News
  • 2026 Jun 06 16:59
अर्थमन्त्रीलाई जोडेर फैलाइएका अफवाहप्रति मन्त्रालय पक्षको आपत्ति, अनुसन्धान जारी रहेको स्पष्टिकरण
United Ajod

काठमाडौं । बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई जोडेर फैलाइएका अफवाह र चरित्र हत्या गर्ने प्रयासप्रति अर्थमन्त्रीको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

Nepal Life
NIMB

अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा रसुवागढी भन्सार नाकासम्बन्धी घटनामा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको उल्लेख गरिएको छ। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको पनि जनाइएको छ।

विज्ञप्तिअनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको जाँचपास भएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधनसम्बन्धी विषयमा पनि अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

हाल अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिसहितको टोली घटनास्थलमा खटिएर अनुसन्धानमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशङ्कामा केही सवारीसाधन तथा आयातकर्ता कम्पनीलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र यसको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

यद्यपि अनुसन्धान प्रक्रिया चलिरहेकै अवस्थामा अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा भ्रमपूर्ण भाष्य स्थापित गर्ने तथा बजेटलाई विवादमा पार्ने उद्देश्यले प्रचारबाजी र ‘मिडिया ट्रायल’ गरिएको भन्दै सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको तथा अन्य सम्बन्धित पक्षविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी विज्ञप्तिमा दिइएको छ।

साथै, अर्थमन्त्री तथा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा धारणा बनाउँदा सम्बन्धित जिम्मेवार अधिकारीसँग तथ्य बुझ्न, अर्थतन्त्र, बजेट र भन्सारजस्ता प्राविधिक विषयमा सत्यतथ्य पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम तथा सरोकारवाला पक्षसँग आग्रह गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया