विश्व वातावरण दिवसमा मञ्जुश्री पार्कमा वर्ल्डलिङ्कद्वारा वृक्षारोपण
- BFIS News
- 2026 Jun 07 12:47
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोग, जलविनायक सामुदायिक वन उपभोक्ता समूह तथा प्रगतिशील युवा समूहको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा मञ्जुश्री पार्क परिसरमा धुपी प्रजातिका साथै विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन्।
कार्यक्रममा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडकी सीएसआर डाइरेक्टर तथा प्रमोटर शेयरहोल्डर अनुपा भण्डारी जालानले वृक्षारोपणले सामुदायिक वन तथा मञ्जुश्री पार्कको सौन्दर्य अभिवृद्धिसँगै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनले सामुदायिक वन र स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर उक्त क्षेत्रमा वृक्षारोपण गरिएको स्पष्ट पार्दै विगत केही वर्षदेखि वर्ल्डलिङ्कले देशका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूमा वृक्षारोपण र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
भण्डारी जालानले वातावरण संरक्षण कुनै एक दिनमा सीमित विषय नभई जीवनशैली, सामाजिक उत्तरदायित्व र भावी पुस्तासँग प्रत्यक्ष जोडिएको साझा दायित्व भएको बताइन्। दिगो विकास र स्वच्छ वातावरण निर्माणका लागि निजी क्षेत्र, स्थानीय समुदाय तथा युवाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाएको बताइन्। वर्ल्डलिङ्कले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जनले यस्ता कार्यक्रमले वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सामुदायिक वन र निजी क्षेत्रबीचको सहकार्यको उत्कृष्ट नमुना रूपमा कार्यक्रमलाई व्याख्या गरे।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणका लागि सबै क्षेत्रको साझा प्रयास र सहकार्यको आवश्यकता उजागर गर्नुका साथै ‘पृथ्वीको भविष्य, हाम्रो जिम्मेवारी’ भन्ने सन्देशलाई थप सशक्त बनाएको आयोजकले जनाएको छ।
वर्ल्डलिङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण तथा सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा प्रवर्द्धन, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया