पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा, समृद्धिसँगको मर्जरपछि पुँजीकोष सुधार हुने निष्कर्ष
- BFIS News
- 2026 Jun 27 07:36
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही (Prompt Corrective Action) फुकुवा गरेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिएपछि संस्थाको पुँजीकोष स्थिति न्यूनतम नियामकीय सीमा अनुरूप हुने देखिएकाले केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार समितिको २०८३ असार १० गतेको निर्णयबाट समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको हो।
राष्ट्र बैंकका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै तल पुगेको देखिएको थियो। त्यसपछि २०८१ माघ २३ गतेको पत्रमार्फत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही लागू गरिएको थियो।
यसबीच पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच गाभ्ने/गाभिने प्रक्रिया अघि बढेको थियो। समितिले २०८३ वैशाख १७ गते उक्त मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेपछि संयुक्त वित्तीय अवस्थाको पुनः मूल्याङ्कन गरिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा मर्जरपछिको संयुक्त संस्थाको प्राथमिक पुँजी (Tier-1 Capital) ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत कायम हुने देखिएको छ। यो अवस्था नियामकीय आवश्यकताअनुसार सुधार भएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही हटाउने निर्णय गरेको जनाएको छ।
राष्ट्र बैंकको यो निर्णयसँगै समृद्धि फाइनान्स र पोखरा फाइनान्सको एकीकृत कारोबार नियामकीय अवरोधबिना सञ्चालन हुने भएको छ। मर्जरमार्फत संस्थाको वित्तीय आधार बलियो बनाउने र नियामकीय पुँजीकोष मापदण्ड पूरा गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया