NIMB Header 2
Nepal Life

हिउँदको ऊर्जा संकट समाधानका लागि बिहारसँग विद्युत् साटफेरको प्रस्ताव, भारतीय नीतिकै कारण कार्यान्वयन अनिश्चित

IME LIFE
  • BFIS News
  • 2026 Jun 28 11:18
हिउँदको ऊर्जा संकट समाधानका लागि बिहारसँग विद्युत् साटफेरको प्रस्ताव, भारतीय नीतिकै कारण कार्यान्वयन अनिश्चित
United Ajod

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदमा हुने विद्युत् अभाव व्यवस्थापन गर्न भारतीय राज्य बिहारसँग विद्युत् साटफेर (पावर स्वापिङ/बैंकिङ) गर्ने प्रस्ताव अघि सारेको छ।

Nepal Life
NIMB

वर्षायाममा नेपालको अतिरिक्त विद्युत् बिहारलाई उपलब्ध गराउने र हिउँदमा सोही परिमाणको विद्युत् फिर्ता लिने अवधारणामा आधारित यो प्रस्ताव भारतको विद्यमान नीतिगत व्यवस्थाका कारण अघि बढ्न सकेको छैन।

प्राधिकरणले केही समयअघि बिहार स्टेट पावर होल्डिङ कम्पनीलाई ३०० मेगावाटसम्म विद्युत् साटफेर गर्ने प्रस्ताव पठाएको हो। प्रस्तावअनुसार वर्षायाममा उत्पादन बढी हुँदा नेपालबाट विद्युत् आपूर्ति गरिनेछ भने हिउँदमा उत्पादन घट्दा बराबर परिमाणको विद्युत् नेपालले फिर्ता प्राप्त गर्ने व्यवस्था रहनेछ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घकुमार श्रेष्ठका अनुसार नेपाल र बिहारबीच १३२ केभीका अन्तरदेशीय प्रसारण लाइनहरू सञ्चालनमा रहेकाले प्राविधिक रूपमा यस्तो व्यवस्था कार्यान्वयन गर्न कठिनाइ नरहेको छ। उनका अनुसार नेपालले अहिले पनि भारतको विद्युत् बजारमार्फत ६०० मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ, तर हिउँदमा महँगो मूल्यमा विद्युत् आयात गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले नयाँ मोडल प्रस्ताव गरिएको हो।

यद्यपि, प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बिहार राज्य सरकार प्रस्तावप्रति सकारात्मक भए पनि भारत सरकारको ‘क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड गाइडलाइन–२०१८’ मा विद्युत् बैंकिङ वा स्वापिङसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।

भारतीय प्राविधिक निकायले विद्युत् साटफेर प्रणालीले बजारमा मूल्य निर्धारण प्रक्रियामा प्रभाव पार्न सक्ने भन्दै आयात–निर्यातलाई व्यापारिक आधारमा निश्चित दरमा सञ्चालन गर्नुपर्ने धारणा राखेको बताइएको छ। ढकालका अनुसार प्रस्ताव कार्यान्वयनका लागि अब दुई देशबीच उच्च तहको नीतिगत तथा प्राविधिक समझदारी आवश्यक देखिएको छ।

प्राधिकरणका अनुसार हाल नेपालले भारतका पीटीसी इन्डिया, एनभीभीएन लगायतका कम्पनी तथा पावर एक्सचेन्जमार्फत विद्युत् किनबेच गर्दै आएको छ। दैनिक रूपमा भारत र बंगलादेशतर्फ करिब ६५० मेगावाट विद्युत् निर्यात भइरहेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म नेपालले २ अर्ब ९५ करोड १९ लाख युनिट विद्युत् निर्यात गरी २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। सोही अवधिमा हिउँदको माग पूरा गर्न ९४ करोड ८१ लाख युनिट विद्युत् भारतबाट आयात गर्दा ७ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको प्राधिकरणको तथ्यांक छ। हाल नेपालले भारततर्फ १ हजार १२५ मेगावाट विद्युत् निर्यात गरिरहेको छ भने स्वीकृत क्षमता १ हजार १६५ मेगावाटसम्म रहेको छ।

यसैबीच, नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरिसकेको छ। त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सन् २०२९ अक्टोबरसम्म प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले बंगलादेश पठाउने अनुमति प्राप्त भएको छ।

प्राधिकरणले बंगलादेशतर्फको निर्यात ६० मेगावाट पुर्‍याउने योजना बनाए पनि भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभाव देखाउँदै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २० मेगावाट निर्यातका लागि अनुमति नदिएपछि उक्त प्रक्रिया पनि हाल रोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया