Nepal Life

सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्षसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Sagarmatha Lumbini
  • आयुस बस्नेत
  • 2026 Jul 21 14:00
सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्षसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, साउन ५ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष, वडा सचिव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

Nepal Life
NIMB

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म वृद्धभत्ता, एकल महिला तथा विधवा भत्तालगायत सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अयोग्य व्यक्तिलाई लाभग्राही बनाई झुट्टा विवरणका आधारमा सरकारी रकम वितरण गरिएको पुष्टि भएको छ।

अनुसन्धानबाट जेष्ठ नागरिक भत्ता, एकल महिला/विधवा भत्ता तथा दोहोरो शीर्षकमा भत्ता वितरण गरी ३२ लाख २४ हजार रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना भएको निष्कर्ष निकालिएको छ।

अख्तियारले बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको, उमेर नपुगेकालाई जेष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवित रहेका महिलालाई विधवा भत्ता उपलब्ध गराइएको आरोप पनि लगाएको छ। बैंकिङ प्रणाली लागू भएपछि पनि आवश्यक कागजातबिनै झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरी भत्ता वितरण गरिएको जनाइएको छ।

यस प्रकरणमा वडा अध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरी विरुद्ध ३२ लाख २४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुर विरुद्ध २९ लाख ४४ हजार रुपैयाँ बिगो माग गरिएको छ।

अनियमित रूपमा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा लाभग्राही तथा हकवालासहित ४२ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलउपरको मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया