Nepal Life

शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने : प्रधानमन्त्री

Sagarmatha Lumbini
  • आयुस बस्नेत
  • 2026 Jul 21 14:59
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने : प्रधानमन्त्री

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै हालका लागि उक्त शुल्क कार्यान्वयन नगर्ने निर्णय गरिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।

 

Nepal Life
NIMB

प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार सरकारले समता शुल्क ल्याउनुको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको थियो।

तर, उक्त व्यवस्थाप्रति नागरिक तहबाट आएको असन्तुष्टि र प्रतिक्रियालाई गम्भीरतापूर्वक लिँदै सरकार पछि हटेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले सरकार जनताको विश्वास र अपेक्षाअनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै नागरिकको हितविपरीत हुने कुनै पनि निर्णय आवश्यक परे संशोधन वा परिमार्जन गर्न सरकार सधैं तयार रहने बताएका छन्।

यस्तै, विपन्न तथा गरिब नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीले स्पष्ट पारेका छन्।

 

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया