Nepal Life

लगातार पाँचौँ दिन पनि बढ्यो शेयर बजार, नेप्से ७.२५ अंकले उकालो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 15:54
लगातार पाँचौँ दिन पनि बढ्यो शेयर बजार, नेप्से ७.२५ अंकले उकालो

काठमाडौं । नेपाली शेयर बजारले लगातार पाँचौँ कारोबार दिन पनि सकारात्मक लय कायम राखेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा पुगेको हो।

 

Nepal Life
NIMB

यस दिन ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। उपसूचकतर्फ ५ समूहमा वृद्धि हुँदा ८ समूहमा गिरावट आएको छ।

पछिल्ला केही दिनयता सरकार, नियामक निकाय तथा सम्बन्धित पक्षबाट पूँजी बजारप्रति आएका सकारात्मक सन्देशले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ। कारोबार रकममा पनि निरन्तर वृद्धि देखिनुका साथै नयाँ लगानीकर्ताको सहभागिता बढ्दै गएको बजार विश्लेषकहरूको भनाइ छ।

प्रधानमन्त्री बालेन्द्र शाह ले पनि पूँजी बजारलाई केवल शेयर खरिद–बिक्रीको माध्यमका रूपमा सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने राष्ट्रिय संयन्त्रका रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। लगानीकर्तासँगको हालैको भेटमा उनले नीतिगत स्थिरता, पारदर्शिता र दीर्घकालीन सुधारमार्फत लगानीकर्ताको विश्वास बढाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।

यस्तै, गत बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बीच भएको भेटवार्तामा मौद्रिक नीतिलाई थप लचिलो बनाउने, ब्याजदर तथा कर्जा प्रवाहलाई उद्यममैत्री बनाउने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र पूँजी बजारप्रति लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। उक्त भेटपछि बजारमा सकारात्मक अपेक्षा बढेको विश्लेषण गरिएको छ।

यसैगरी, नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि नियामकीय सुधार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि तथा नयाँ वित्तीय उपकरण विकाससम्बन्धी रोडम्याप सार्वजनिक गरेपछि पनि लगानीकर्ताको विश्वास बढेको बताइएको छ।

बजार विश्लेषकहरूका अनुसार सरकारले घोषणा गरेका नीतिगत सुधार र नियामक निकायका प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन हुन सके हाल देखिएको बजार सुधारले आगामी दिनमा अझ बलियो आधार प्राप्त गर्ने अपेक्षा गरिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया