Nepal Life

रास्वपाले सांसदलाई दियो पाँचबुँदे निर्देशन, जनसंवाद र संगठन सुदृढीकरणमा जोड

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 15:56
रास्वपाले सांसदलाई दियो पाँचबुँदे निर्देशन, जनसंवाद र संगठन सुदृढीकरणमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय, जनसंवाद र साङ्गठनिक सुदृढीकरणसम्बन्धी पाँचबुँदे निर्देशन जारी गरेको छ।

 

Nepal Life
NIMB

पार्टीका महामन्त्री विपिनकुमार आचार्य ले मंगलबार परिपत्र जारी गर्दै सांसदहरूलाई भ्रमणलाई औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नराखी पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने र जनअभिमतलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न निर्देशन दिएका हुन्।

परिपत्रमा सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्म संस्थागत गर्न संसद् र नागरिकबीच जीवन्त संवाद अपरिहार्य रहेको उल्लेख गरिएको छ।

रास्वपाका पाँच निर्देशन

१. संस्थागत समन्वय र पूर्वसूचना
सांसदले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय गर्नुअघि सम्बन्धित पार्टी समिति र संयन्त्रलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्नेछ। आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा भ्रमण गर्दा सम्बन्धित सांसदसँग पनि समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ।

२. स्थानीय मुद्दालाई प्राथमिकता
भ्रमणअघि स्थानीय समितिसँग छलफल गरी त्यस क्षेत्रका प्रमुख समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने निर्देशन दिइएको छ।

३. संगठन र जनपरिचालनमा जोड
कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व, अपनत्व र सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

४. मितव्ययिता र सुशासन
भ्रमण तथा कार्यक्रमलाई तडकभडक र अनावश्यक खर्चबाट मुक्त राखी स्रोत–साधनको मितव्ययी उपयोगमार्फत सुशासनको सन्देश दिन पार्टीले सांसदलाई निर्देशन दिएको छ।

५. नीतिगत पृष्ठपोषण प्रणाली
जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिका प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्रै पार्टीको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया