Nepal Life

अविरल वर्षापछि इलाम–ताप्लेजुङ सडक सम्पर्क अवरुद्ध, बिरामी स्ट्रेचरमा ओसार्न बाध्य

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 21 16:00
अविरल वर्षापछि इलाम–ताप्लेजुङ सडक सम्पर्क अवरुद्ध, बिरामी स्ट्रेचरमा ओसार्न बाध्य

काठमाडौं । केही दिनयता परेको अविरल वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङ जोड्ने मुख्य सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। मेची राजमार्गअन्तर्गत माइखोलाको राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द हुँदा मेची पहाडी क्षेत्रका सर्वसाधारणले सास्ती भोगिरहेका छन्।

 

Nepal Life
NIMB

हाल इलामबाट झापा पुग्ने भरपर्दो कुनै पनि सडक सञ्चालनमा छैन। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका केचना–कञ्चनजङ्घा सडकतिल्केनी–सिमल गोलाई सडक अन्तर्गत पुवाखोला र जोगमाई खोलामा निर्माण गरिएका डाइभर्सन बाढीले बगाएपछि आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरे का अनुसार खोलामा पानी घटेपछि डाइभर्सन निर्माण गरिए पनि पुनः बाढी आउँदा बगाउने क्रम दोहोरिएकाले समस्या झन् जटिल बनेको छ। उनले राजदुवाली सडक खण्डमा संरक्षण पर्खाल निर्माण भइरहेको र माथिबाट सडक भासिँदै गएकाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन सम्भव नरहेको बताए।

सडक अवरुद्ध भएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गराउनुपर्ने अवस्था सिर्जना भएको छ भने यात्रुहरू जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन्। वैकल्पिक मार्ग प्रयोग गरेर ताप्लेजुङतर्फ गएका मालवाहक सवारीसाधन पनि बीच बाटोमै अलपत्र परेका छन्।

यता सडक अवरुद्ध भएपछि इन्धन, खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ। इलाम उद्योग वाणिज्य सङ्घ का अध्यक्ष कृष्ण पौड्याल ले ढुवानी प्रभावित हुँदा बजारमा सामानको अभावसँगै मूल्यसमेत बढ्न थालेको बताए।

उनले समस्या तत्काल समाधान नभए नागरिक स्वयं आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन्। लगातारको वर्षासँगै सडक सञ्जाल अवरुद्ध हुँदा मेची पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया