Nepal Life

नबिल बैंकको खुद नाफा ३३.५ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 05 08:53
नबिल बैंकको खुद नाफा ३३.५ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड रुपैयाँ

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक नबिल बैंक लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफा, खुद ब्याज आम्दानी, सञ्चालन नाफा तथा वितरणयोग्य मुनाफालगायत प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।

Nepal Life
NIMB

बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको मुख्य बैंकिङ कारोबारबाट हुने आम्दानीमा सुधार आएको संकेत गरेको छ।

वित्तीय विवरणअनुसार कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड रुपैयाँ रहेको यो शीर्षक समीक्षा अवधिमा घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। कर्जा नोक्सानी व्यवस्थामा आएको कमीले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

यस्तै, सञ्चालन नाफा पनि २५.२२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकले लाभांश वितरणका लागि पनि बलियो आधार तयार गरेको देखिएको छ। नियामकीय समायोजनपश्चात् असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षबाट सञ्चित मुनाफासहित समायोजनपछि कुल वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यसअनुसार बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ।

बैंकको वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ। आर्थिक वर्षको अन्त्यसम्म कुल सम्पत्ति १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कुल सम्पत्ति ६ खर्ब ३६ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर पनि समावेश छ। सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा निक्षेप र कर्जा विस्तारमा पनि दोहोरो अंकको वृद्धि भएको छ। ग्राहक निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा १२ प्रतिशतले वृद्धि भई ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

साथै, बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म खराब कर्जा (ग्रस एनपीएल) ४.२० प्रतिशतमा सीमित भएको छ भने नेट एनपीएल ०.५८ प्रतिशत कायम रहेको छ। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा पुगेको छ। वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड रुपैयाँ कायम हुनु, नाफा तथा सञ्चालन सूचकमा सुधार आउनु र कर्जा गुणस्तर सुदृढ बन्दै जानुले आगामी लाभांश वितरण क्षमता मजबुत रहेको संकेत गरेको वित्तीय विवरणले देखाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया