Nepal Life

एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, लाभांश दिन सक्ने क्षमता ३८ प्रतिशत

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 05 10:57
एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, लाभांश दिन सक्ने क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले खुद नाफामा सामान्य वृद्धि हासिल गरे पनि प्रतिशेयर आम्दानी (EPS) भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। यस्तै, निक्षेप, कर्जा विस्तार, कुल सम्पत्ति तथा वितरणयोग्य नाफामा पनि वृद्धि भएको देखिएको छ।

Nepal Life
NIMB

बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँको तुलनामा ४.७५ प्रतिशत बढी हो। यद्यपि, खुद ब्याज आम्दानीको वृद्धि भने सीमित रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९७ प्रतिशतले मात्र बढी हो।

त्यस्तै, बैंकको सञ्चालन नाफा पनि सामान्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर गत असार मसान्तसम्म ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

लाभांश वितरण क्षमताको दृष्टिले पनि बैंकको अवस्था सुदृढ देखिएको छ। नियामकीय समायोजनपछिको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस आधारमा साधारण शेयरधनीका लागि प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा रहेको छ।

पूँजी आधार पनि विस्तार भएको छ। बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। ग्राहक निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १०.३७ प्रतिशतले वृद्धि भई २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सम्पत्ति ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

वित्तीय विवरणले एभरेस्ट बैंकले नाफा, निक्षेप, कर्जा र सम्पत्तिको आकारमा वृद्धि कायम राखेको देखाए पनि प्रतिशेयर आम्दानीमा आएको गिरावट भने लगानीकर्ताका लागि चासोको विषय बनेको छ। आगामी लाभांश घोषणामा बैंकको वितरणयोग्य नाफा र पूँजी व्यवस्थापनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया