एलपीजी ग्यास आपूर्ति व्यवस्थापनका लागि नेपाल आयल निगमले गठन गर्यो ‘क्विक रेस्पोन्स टिम’
- BFIS News
- 2026 Aug 05 13:08
काठमाडौं। बजारमा एलपीजी ग्यासको आपूर्ति र वितरणसम्बन्धी गुनासो बढ्न थालेपछि नेपाल आयल निगमले समस्या समाधानका लागि ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टोलीले बुधबारदेखि नै काम सुरु गरेको निगमले जनाएको छ।
मन्त्री यादवले उपभोक्ताले खाना पकाउने ग्यासको अभाव भोग्न नपर्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।
गठित टोलीमा उद्योग मन्त्रालयका मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
नेपाल आयल निगमका अनुसार टोलीको प्रमुख जिम्मेवारी देशका विभिन्न स्थानमा एलपीजी ग्यासको आपूर्ति वा वितरणमा समस्या देखिए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्नु हुनेछ। हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित ग्यास उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गर्दै उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ।
हालै विभिन्न जिल्लाबाट एलपीजी ग्यास अभाव तथा वितरणमा समस्या भएको गुनासो बढेपछि तत्काल समस्या समाधानका लागि यस्तो संयन्त्र स्थापना गरिएको निगमको भनाइ छ। कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी सकेसम्म शीघ्र समाधान गर्ने लक्ष्य राखिएको छ।
एलपीजी ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि ‘क्विक रेस्पोन्स टिम’ले आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया