ग्रीनप्लाइ नेपालले सर्वसाधारणका लागि १६ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने
- BFIS News
- 2026 Aug 09 10:54
काठमाडौं । ग्रीनप्लाइ नेपाल लिमिटेडले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबरको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बुढीगंगा गाउँपालिका–५, मोरङस्थित रजिष्टर्ड कार्यालयमा सम्पन्न विशेष साधारणसभाले १६ लाख ४० हजार कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक वर्षमै पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। विशेष साधारणसभाले संस्थापक सेयरको अंकित मूल्यमा प्रतिकित्ता १२५ रुपैयाँ प्रिमियम थप गर्ने प्रस्तावसमेत पारित गरेको छ।
पाँच वर्षदेखि निरन्तर नाफामा
प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको कम्पनीले पछिल्ला वर्षमा वित्तीय अवस्था क्रमशः सुधार गर्दै आएको जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वार्षिक कारोबार करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९६ प्रतिशतले बढी हो।
कम्पनीका अनुसार पछिल्ला पाँच आर्थिक वर्षदेखि लगातार नाफामा रहँदै आएको छ। वित्तीय संरचनामा समेत सुधार देखिएको कम्पनीले जनाएको छ। कम्पनीको समग्र गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा आएको छ। त्यस्तै, खुद मूर्त सम्पत्ति करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको छ।
७० प्रतिशतभन्दा बढी उत्पादन भारत निर्यात
ग्रीनप्लाइ नेपालले उत्पादन गर्ने प्लाइउडमध्ये करिब ३० प्रतिशत नेपाली बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन निर्यात हुने गरेको छ। कम्पनीको प्रमुख निर्यात बजार भारत हो।
भारतमा आफ्ना उत्पादन बिक्री गर्न कम्पनीले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (BIS) प्रमाणीकरणसमेत प्राप्त गरेको छ। साथै, कम्पनीले सरकारबाट निर्यातसम्बन्धी अनुदानसमेत प्राप्त गर्दै आएको जनाएको छ।
कम्पनीले प्लाइउडसँगै ब्लकबोर्ड र फ्लस डोर उत्पादन गर्दै आएको छ। गुणस्तर, वातावरणमैत्री उत्पादन प्रक्रिया र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै उत्पादन सञ्चालन गरिरहेको कम्पनीको भनाइ छ।
उत्पादन क्षमता विस्तार गर्ने योजना
कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश तथा प्रविधि र नवप्रवर्तनमा लगानी बढाउने योजना अघि सारेको छ। नेपालमा आयात हुने प्लाइउडमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई विस्तार गर्ने रणनीति पनि कम्पनीले लिएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा मुख्यालय रहेको कम्पनीको अध्यक्षमा उद्योगी जीवनप्रसाद रिजाल छन्। कम्पनीमा दिवाकर राठी, दागेन्द्रप्रसाद रिजाल, मनीष खेतान, सुनील अग्रवाल र विवेक अग्रवाललगायत व्यवसायीको लगानी रहेको छ। संस्थागत लगानीकर्तातर्फ स्टार इन्भेस्टमेन्ट फन्ड, टप फन्ड र हार्भेस्ट भेन्चर्सको समेत लगानी रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया