Nepal Life

बुद्ध एयरले भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 07 16:55
बुद्ध एयरले भित्र्याएको एटीआर–७२–६०० विमान १४ वर्ष पुरानो

काठमाडौं, साउन २२ नेपालकै अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले हालै नेपाल भित्र्याएको एटीआर–७२–६०० विमान करिब १४ वर्ष पुरानो रहेको खुलेको छ। कम्पनीले अत्याधुनिक प्रविधियुक्त विमानका रूपमा सार्वजनिक गरेको उक्त जहाज सन् २०१२ मै निर्माण भई विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा व्यावसायिक उडान गरिसकेको अभिलेखले देखाएको छ।

 

 

Nepal Life
NIMB

बुद्ध एयरले साउन ९ गते ‘९एन–एओएस’ दर्ता नम्बर प्राप्त एटीआर–७२–६०० विमान नेपाल ल्याएको थियो। कम्पनीले आगामी महिनादेखि यसलाई व्यावसायिक उडानमा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

विमानमा पूर्ण डिजिटल ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट सिस्टम तथा उन्नत सुरक्षा प्रविधि जडान गरिएका छन्। यद्यपि, यसको निर्माण मिति मार्च २०१२ रहेको विवरणबाट विमान हाल करिब १४ वर्ष चार महिना पुरानो भएको देखिएको छ।

फ्रान्सको टुलुजस्थित एटीआर उत्पादन केन्द्रमा निर्मित उक्त विमान पहिलोपटक ब्राजिलमा ‘PR-TKL’ दर्ता संकेतसहित सञ्चालनमा आएको थियो। प्रारम्भिक चरणमा यसलाई TRIP Linhas Aéreas ले व्यावसायिक उडानमा प्रयोग गरेको थियो।

पछि उक्त विमान Azul Airlines को फ्लीटमा समावेश भई लामो समय यात्रु सेवा सञ्चालन गरेको थियो। त्यसपछि यसको स्वामित्व परिवर्तन भई DAE Capital अन्तर्गत सञ्चालनमा गएको र त्यसबेला यसको दर्ता संकेत 2-RTKL कायम गरिएको अभिलेखमा उल्लेख छ।

सन् २०२६ को मेसम्म विभिन्न अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएको उक्त विमान जुलाई २०२६ मा बुद्ध एयरले नेपाल भित्र्याएको हो।

यसरी एउटै विमानले तीन फरक कम्पनीमार्फत लामो समय व्यावसायिक सेवा दिएपछि मात्रै नेपाली आकाशमा प्रवेश गरेको विवरण सार्वजनिक भएको छ।

यद्यपि, विमान पुरानो भए पनि नियमित मर्मतसम्भार, प्राविधिक परीक्षण तथा अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड पूरा गरेपछि यस्ता जहाज विश्वभर सुरक्षित रूपमा सञ्चालन हुने गरेका छन्। बुद्ध एयरले पनि यही विमानलाई नेपाली आन्तरिक उडानमा प्रयोग गर्ने तयारी गरिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया