NIMB Header 2
Nepal Life

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, १६ जनालाई एक एक लाख र एक जनालाई बम्पर १० लाख

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 15:55
साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, १६ जनालाई एक एक लाख र एक जनालाई बम्पर १० लाख
National Life

काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जना विजेता र एक जना बम्पर विजेता घोषणा गरेको छ। विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो।

Nepal Life
NIMB

विभागका अनुसार साउन १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा नियमसम्मत कारोबारमा संलग्न उपभोक्तालाई दोस्रो पाक्षिक पुरस्कार योजनामा समेटिएको थियो। सो अवधिमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल उपहार योजनाका लागि अपलोड भएका थिए।

यसअघि साउनको पहिलो १६ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार संख्या ७ हजार ७७ रहेको थियो। दोस्रो पाक्षिक अवधिमा बिल अपलोड गर्नेको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ।

क्यूआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने उपभोक्ताको कारोबार संख्या पनि बढेको छ। साउनको पहिलो अवधिमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको यस्तो कारोबार संख्या दोस्रो पाक्षिक अवधिमा ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

विभागका अनुसार दोस्रो पाक्षिक अवधिसम्म उपहार योजनामा सहभागी कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको थियो। सोही कारोबारमध्येबाट १६ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको हो।

नियमिततर्फ छनोट भएका १६ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा कर कट्टी भएपछि उनीहरूले जनही १ लाख रुपैयाँ खुद प्राप्त गर्नेछन्।

यसैगरी, बम्पर पुरस्कारअन्तर्गत एक जना उपभोक्ताले १० लाख रुपैयाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता यसपटकको बम्पर पुरस्कार विजेता बनेका हुन्। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्नेछ।

कार्यक्रममा साउन महिनाको पहिलो पाक्षिक उपहार योजनामा विजेता बनेका उपभोक्तालाई नगद पुरस्कारसमेत प्रदान गरिएको छ। विभागले उपभोक्तालाई कर प्रणालीमा सहभागी गराउने र कारोबारका क्रममा बिल लिने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पुरस्कार योजना सञ्चालन गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया