Nepal Life

मुक्तिनाथ विकास बैंकको कर्जा लगानी पहिलोपटक खर्ब नाघ्यो, प्रतिशेयर आम्दानी १८.९८ रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 12 09:54
मुक्तिनाथ विकास बैंकको कर्जा लगानी पहिलोपटक खर्ब नाघ्यो, प्रतिशेयर आम्दानी १८.९८ रुपैयाँ

काठमाडौं। मुक्तिनाथ विकास बैंकको कर्जा लगानी पहिलोपटक १ खर्ब रुपैयाँ नाघेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा १ खर्ब ५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै विकास बैंकमध्ये कर्जा लगानीतर्फ ‘खर्बपति क्लब’ मा प्रवेश गरेको हो।

Nepal Life
NIMB

बैंकको कर्जा लगानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३८ प्रतिशतले बढेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकको कर्जा तथा सापटी ९ खर्ब ७२ अर्ब २३ करोड रुपैयाँ थियो। कर्जा विस्तारसँगै बैंकको निक्षेप संकलन पनि बढेको छ। समीक्षा अवधिमा बैंकले १२ खर्ब ३५ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.२० प्रतिशत बढी हो।

व्यवसाय विस्तारसँगै बैंकको नाफामा समेत सुधार देखिएको छ। बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको १ अर्ब ३५ करोड ३६ लाख रुपैयाँको तुलनामा १२.४४ प्रतिशत बढी हो।

बैंकको सञ्चालन नाफा २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ, कर्जा नोक्सानी व्यवस्थापनबापतको इम्पेरमेन्ट चार्ज २७.८७ प्रतिशतले घटेर ५७ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। कर्मचारी खर्च भने ०.५२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ७६ लाख रुपैयाँमा झरेको छ।

यद्यपि, बैंकको वितरणयोग्य नाफा भने उल्लेख्य घटेको छ। समीक्षा अवधिमा वितरणयोग्य नाफा ५०.१० प्रतिशतले घटेर ६७ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा १ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ थियो।

बैंकको चुक्ता पुँजी १३.५३ प्रतिशतले बढेर ८ अर्ब रुपैयाँ पुगेको छ। सञ्चित कोष तथा जगेडा २५.२६ प्रतिशतले बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यससँगै बैंकको पुँजी पर्याप्तता अनुपात १३.४७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको १२.८८ प्रतिशतभन्दा बढी हो।

तर, बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो आवको चौथो त्रैमासमा २.९७ प्रतिशत रहेको गैरनिष्क्रिय कर्जा (एनपीएल) अनुपात गत आवमा बढेर ४.७७ प्रतिशत पुगेको छ। लागततर्फ भने सुधार देखिएको छ। बैंकको कोषको लागत ४.९० प्रतिशतबाट घटेर ३.५३ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा कायम भएको छ। अघिल्लो आवमा यस्तो आम्दानी १९ रुपैयाँ १६ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको १६७ रुपैयाँ ५९ पैसाको तुलनामा कम हो।

यसरी हेर्दा, मुक्तिनाथ विकास बैंकले कर्जा तथा निक्षेप दुवै विस्तार गर्दै व्यवसायको आकार बढाएको छ भने सञ्चालन नाफा र खुद नाफामा समेत वृद्धि गरेको छ। पहिलोपटक कर्जा लगानी एक खर्ब रुपैयाँ नाघ्नु बैंकको व्यवसाय विस्तारको महत्वपूर्ण सूचक बनेको छ। यद्यपि, बढ्दो एनपीएल र घट्दो वितरणयोग्य नाफा आगामी दिनमा बैंकका लागि चुनौतीका रूपमा देखिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया