NIMB Header 2
Nepal Life

एनआरएन र नेपाल चेम्बरबीच लगानी र व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 12:03
एनआरएन र नेपाल चेम्बरबीच लगानी र व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी
United Ajod

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य सुदृढ गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

Nepal Life
NIMB

समझदारीपत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरे।

समझदारीले विदेशमा रहेका नेपालीको पुँजीसँगै सीप, ज्ञान, प्रविधि, अन्तर्राष्ट्रिय अनुभव र व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्ने लक्ष्य राखेको छ। यसअन्तर्गत एनआरएनए र नेपाल चेम्बरले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) तथा गैरआवासीय नेपालीबाट हुने लगानी भित्र्याउन सहजीकरण गर्नेछन्।

दुवै संस्थाले व्यापार तथा औद्योगिक विकास प्रवर्द्धनमा सहकार्य गर्नुका साथै नेपालमा रहेका उद्यमी तथा विदेशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीबीच व्यावसायिक सम्बन्ध र सञ्जाल विस्तारमा सहजीकरण गर्नेछन्।

समझदारीअनुसार लगानी सम्मेलन, रोड शो, बिजनेस समिट तथा अन्य व्यावसायिक कार्यक्रम संयुक्त रूपमा आयोजना गरिनेछ। यस्ता कार्यक्रममार्फत नेपाली व्यवसायी तथा उद्यमीलाई गैरआवासीय नेपाली र अन्तर्राष्ट्रिय लगानीकर्तासँग प्रत्यक्ष जोडेर नयाँ लगानी तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम (एसएमई), स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धनका लागि संयुक्त पहल गरिनेछ। ज्ञान तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम पनि सहकार्यमा सञ्चालन गरिने समझदारीमा उल्लेख छ।

दुवै संस्थाले आर्थिक तथा लगानीसम्बन्धी तथ्यांक, बजार सूचना र अनुसन्धान सामग्री आदानप्रदान गर्नेछन्। नेपालको लगानी तथा व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको पैरवी गर्न सरकार तथा सम्बन्धित सरोकारवालासँग संयुक्त रूपमा छलफल तथा पहल गर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ।

एनआरएनएले विश्वभर रहेका गैरआवासीय नेपाली लगानीकर्ता, उद्यमी, व्यावसायिक तथा विशेषज्ञको सञ्जाल परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्नेछ। साथै, नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजार तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्न सहजीकरण गर्नेछ।

समझदारीमा नेपाल चेम्बरका सदस्यले एनआरएनएले प्रवर्द्धन गरेका विभिन्न परियोजनामा लगानी गर्न प्रोत्साहन तथा सहजीकरण गर्ने प्रावधानसमेत समेटिएको छ। यसले स्थानीय नेपाली व्यवसायी र गैरआवासीय नेपाली उद्यमीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

हस्ताक्षर कार्यक्रममा एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीसँग पुँजी मात्र नभई सीप, प्रविधि, व्यवस्थापकीय दक्षता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक व्यावसायिक सञ्जाल रहेको बताए। यी स्रोतलाई नेपालको विकाससँग जोड्न एनआरएनएले प्राथमिकता दिने उनले बताए।

उनले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई समेत नेपालसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै पर्यटन, संस्कृति, उद्यमशीलता, लगानी तथा उदीयमान प्रविधिमार्फत उनीहरूलाई नेपालसँग जोड्ने कार्यक्रम अघि बढाइने बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको आर्थिक विकासका लागि नीतिगत स्पष्टता, प्रभावकारी कार्यान्वयन र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। एनआरएनएसँगको सहकार्यले विश्वभर रहेका नेपालीको पुँजी, ज्ञान, सीप तथा व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म कायम रहनेछ। दुवै संस्थाको आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

एनआरएनएले यो समझदारीलाई नेपालमा लगानी आकर्षित गर्ने, व्यापार विस्तार गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार बढाउने, रोजगारी सिर्जना गर्ने तथा पुँजी, प्रविधि र ज्ञान हस्तान्तरणलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण संस्थागत साझेदारीका रूपमा लिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया