NIMB Header 2
Prabhu Mahalaxmi

तिलगंगा आँखा प्रतिष्ठानद्वारा बाढीपीडितका लागि १ करोड ३१ लाख सहयोग

United Ajod
  • BFIS News
  • 2026 Sep 02 10:31
तिलगंगा आँखा प्रतिष्ठानद्वारा बाढीपीडितका लागि १ करोड ३१ लाख सहयोग
IME LIFE

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षति तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले कुल १ करोड ३१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

Nepal Life
NIMB

प्रतिष्ठानका प्रतिनिधिहरूले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पिताम्बर अधिकारी, प्रमुख वित्तीय निर्देशक रामचन्द्र खनाल तथा प्रतिष्ठानको सहयोगी संस्था फ्रेड हलो अष्ट्रेलियाकी कन्ट्री म्यानेजर अञ्जिला दाहालको उपस्थिति थियो।

प्रतिष्ठानका अनुसार संस्थागत रूपमा १ करोड १ लाख १ रुपैयाँ, फ्रेड हलोमार्फत करिब २१ लाख रुपैयाँ र कर्मचारीको एक दिनबराबरको तलबबाट करिब ९ लाख रुपैयाँ गरी कुल १ करोड ३१ लाख रुपैयाँ सहयोग जुटाइएको हो।

यसअघि प्रतिष्ठानले नेपाल सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले १ करोड १ लाख १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। त्यसैगरी, प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले पनि एक दिनबराबरको तलब सोही कोषमा जम्मा गरेका छन्।

आर्थिक सहयोगसँगै प्रतिष्ठानले बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारमा समेत सहयोग गर्ने भएको छ। प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको आँखासम्बन्धी निःशुल्क परीक्षण तथा उपचार सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

त्यसका लागि रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारी तथा ग्रामीण आँखा केन्द्रको सहयोगमा विशेष स्वास्थ्य टोली गठन गरिनेछ। उक्त टोलीले सम्बन्धित जिल्ला दैवी प्रकोप समन्वय समितिसँग समन्वय गरी प्रभावित समुदायको स्वास्थ्य आवश्यकता पहिचान गर्नेछ। आवश्यकता पहिचानका आधारमा प्रभावित क्षेत्रमा आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरू सकुशल भेटिन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्मा आफन्त गुमाएका परिवारजनप्रति प्रतिष्ठानले गहिरो समवेदना व्यक्त गरेको छ।

भविष्यमा शुभेच्छुक तथा सहयोगीहरूबाट थप आर्थिक तथा अन्य सहयोग प्राप्त भएमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापना कार्यमा समेत सहयोग गर्ने प्रतिबद्धता प्रतिष्ठानले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया