भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमले दियो १० करोड रुपैयाँ
- BFIS News
- 2026 Sep 09 20:44
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल टेलिकमले भदौ २४ गते आयोजित विशेष कार्यक्रममा उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सचिव राजेन्द्रकुमार पौडेलको उपस्थितिमा चेक हस्तान्तरण गरेकी हुन्।
चेक हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीको समेत उपस्थिति थियो।
यसअघि नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट पनि बाढी प्रभावितका लागि २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ।
बाढीपछि कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा तथा एसएमएस सेवा उपलब्ध गराएको थियो। सञ्चार सेवामा पहुँच कायम राख्दै प्रभावित नागरिकलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले उक्त सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
नेपाल टेलिकमले प्राकृतिक विपद्का समयमा राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्दै आएको जनाएको छ। बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीका समयमा समेत कम्पनीले आर्थिक तथा अन्य प्रकारका सहयोग उपलब्ध गराएको थियो।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्नुका साथै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको नेपाल टेलिकमले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)

प्रतिक्रिया