NIMB Header 2
Prabhu Mahalaxmi

वित्तीय स्थायित्व र शेयरधनीको प्रतिफललाई सन्तुलनमा राख्ने माछापुच्छ्रे बैंकको रणनीति: रोशन केसी

United Ajod
  • रोशन के.सी.
  • 2026 Oct 19 14:51
वित्तीय स्थायित्व र शेयरधनीको प्रतिफललाई सन्तुलनमा राख्ने माछापुच्छ्रे बैंकको रणनीति: रोशन केसी
Sanima Reliance Life Insurance Company

काठमाडौं। माछापुच्छ्रे बैंकले स्थापनाकालदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै प्रतिस्पर्धात्मक, प्रविधिमैत्री र तीव्र गतिमा परिवर्तन भइरहेको बैंकिङ वातावरणमा आफ्नो छुट्टै पहिचान कायम राख्न सफल भएको छ। बैंकका उपलब्धि वित्तीय सूचकमा मात्र सीमित छैनन्। ग्राहकको विश्वास, कर्मचारीको समर्पण, प्रविधिको प्रभावकारी प्रयोग, सुशासनप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्व पनि बैंकका महत्वपूर्ण उपलब्धि हुन्।

Nepal Life
NIMB

बैंकको स्थापनादेखि हालसम्मको यात्रामा साथ, विश्वास र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी, व्यावसायिक साझेदार, शुभचिन्तक तथा अन्य सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति बैंक सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार कार्य शीघ्र सम्पन्न होस् र प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काम प्रभावकारी रूपमा अघि बढून् भन्ने कामना गर्दछु। विपत्तिका कारण धेरै परिवार घरबारविहीन भएका छन् भने जनजीवन र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

यस कठिन परिस्थितिमा माछापुच्छ्रे बैंकले आफ्नो क्षमताअनुसार प्रभावितलाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि सरकारलाई सहयोग गरेको छ। आगामी दिनमा पनि यस्ता विपत्तिमा आवश्यक सहयोग गर्न बैंक प्रतिबद्ध छ। प्रभावित समुदायको जनजीवन सामान्य बनाउन सरकार, निजी क्षेत्र, संघसंस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको हाम्रो विश्वास छ।

चुनौतीपूर्ण आर्थिक वातावरणमा बैंकिङ क्षेत्र

गएको आर्थिक वर्ष मुलुकको राजनीतिक तथा सामाजिक परिवेशका दृष्टिले चुनौतीपूर्ण रह्यो। वर्षको अवधिमा भएका महत्वपूर्ण राजनीतिक परिवर्तन, जेनजी आन्दोलन तथा त्यसपछिका घटनाक्रमले समग्र व्यावसायिक वातावरणमा प्रभाव पारे। निजी क्षेत्रको व्यावसायिक मनोबल, लगानी र कर्जा मागमा अपेक्षित गति आउन नसक्दा बैंकिङ क्षेत्रको व्यवसाय विस्तारमा समेत चुनौती देखियो।

यसका अतिरिक्त ब्याजदरमा आएको उतारचढाव, कर्जा मागमा रहेको सुस्तता र आर्थिक गतिविधिमा देखिएको अनिश्चितताले बैंकिङ क्षेत्रलाई प्रभावित पारे। तथापि, पछिल्लो समय अर्थतन्त्रका केही महत्वपूर्ण सूचकमा सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ भने शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब रुपैयाँले बचतमा रहेको छ। यस अवधिमा निजी क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले विस्तार भएको छ। यी सूचकले बाह्य क्षेत्र तथा वित्तीय प्रणालीमा सकारात्मक आधार तयार भएको संकेत गर्छन्।

यद्यपि, उपलब्ध वित्तीय स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी निजी क्षेत्रको लगानी र कर्जा माग बढाउनु अझै महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ। आर्थिक गतिविधि विस्तार, लगानीको वातावरणमा सुधार र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन बैंकिङ क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ।

यस्तो चुनौतीपूर्ण परिस्थितिका बाबजुद माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यावसायिक तथा वित्तीय प्रदर्शनमा सुधार गर्न सफल भएको छ।

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८८ करोड रुपैयाँ थियो। यसअनुसार बैंकको खुद नाफा ३.७५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १८.८६ प्रतिशतले वृद्धि भई २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कर्जा तथा सापटी १६.४५ प्रतिशतले बढेर १ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५३ प्रतिशतले वृद्धि भई ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको पूँजी पर्याप्तता अनुपात १६.१९ प्रतिशत रहेको छ।

यसअघि आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत ब्याजदर भएको माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेको थियो। यसबाट बैंकको पूँजी संरचना थप सुदृढ बनाउन सहयोग पुगेको छ।

चुनौतीपूर्ण आर्थिक वातावरणका बीच हासिल भएका यी उपलब्धि बैंकको व्यावसायिक क्षमता, ग्राहकको विश्वास तथा व्यवस्थापन र कर्मचारीको निरन्तर मेहनतको परिणाम हुन्।

डिजिटल बैंकिङ र प्रविधिमा जोड

आजको बैंकिङ सेवा शाखा र काउन्टरमा मात्र सीमित छैन। ग्राहकको आवश्यकता र व्यवहारमा आएको परिवर्तनसँगै डिजिटल बैंकिङ बैंकिङ व्यवसायको अभिन्न हिस्सा बनिसकेको छ। यसलाई आत्मसात् गर्दै माछापुच्छ्रे बैंकले डिजिटल तथा मोबाइल बैंकिङ, कार्ड र विद्युतीय भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र ग्राहककेन्द्रित बनाउँदै आएको छ।

आगामी दिनमा पनि प्रविधिको प्रभावकारी प्रयोगमार्फत बैंकिङ सेवाको पहुँच, गति, सुरक्षा र गुणस्तरमा सुधार गर्नु बैंकको प्राथमिकता रहनेछ। विशेषगरी युवा पुस्ता, महिला उद्यमी, साना तथा मझौला व्यवसाय र डिजिटल माध्यमबाट बैंकिङ सेवा लिन चाहने ग्राहकलाई केन्द्रमा राखेर नवीन सेवाहरू विस्तार गर्ने उद्देश्य बैंकले लिएको छ।

डिजिटल रूपान्तरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै ग्राहकको समय र लागत घटाउन तथा बैंकिङ पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।

उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत परिचालन

माछापुच्छ्रे बैंकको उद्देश्य नाफा आर्जन गर्नु मात्र नभई वित्तीय पहुँच विस्तारमार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याउनु पनि हो। कृषि, पर्यटन, साना तथा मझौला उद्यम, महिला उद्यमशीलता, स्वरोजगार र अन्य उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्नु बैंकको निरन्तर प्राथमिकता रहनेछ।

त्यसैगरी, वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षलाई व्यावसायिक निर्णय प्रक्रियासँग जोड्दै दिगो बैंकिङ अभ्यासलाई सुदृढ बनाउने दिशामा बैंकले काम गरिरहेको छ। वित्तीय स्रोतको जिम्मेवार परिचालन, उद्यमशीलताको प्रवर्द्धन र आर्थिक अवसरको विस्तारमार्फत दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउनु हाम्रो लक्ष्य हो।

सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापन

बैंकिङ व्यवसायमा ग्राहकको विश्वास सबैभन्दा ठूलो पूँजी हो। त्यसैले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नियामकीय अनुपालनलाई बैंकले उच्च प्राथमिकतामा राख्दै आएको छ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायबाट जारी निर्देशन र प्रचलित कानुनको पालना गर्दै बैंकले आफ्ना नीति तथा कार्ययोजना कार्यान्वयन गर्दै आएको छ। सुशासन र अनुपालनका विषयमा बैंकले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ।

यसका साथै, कर्जाको गुणस्तर, सम्पत्तिको गुणस्तर, तरलता, साइबर सुरक्षा तथा प्रविधिजन्य जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्न बैंक प्रतिबद्ध छ। बदलिँदो बैंकिङ वातावरणमा जोखिमको पहिचान, मूल्यांकन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।

आगामी दिनमा बैंकलाई अझ सबल, सुरक्षित, आधुनिक, प्रविधिमैत्री, ग्राहककेन्द्रित र दिगो वित्तीय संस्थाका रूपमा अघि बढाउनु हाम्रो प्रमुख प्राथमिकता रहनेछ।

गुणस्तरीय व्यवसाय विस्तार र शेयरधनीको प्रतिफल

आगामी दिनमा माछापुच्छ्रे बैंक व्यवसायको आकार मात्र बढाउनेभन्दा गुणस्तरीय र दिगो व्यवसाय विस्तारमा केन्द्रित रहनेछ। उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह, सम्पत्तिको गुणस्तर संरक्षण, जोखिम व्यवस्थापन, लागत प्रभावकारिता, डिजिटल रूपान्तरण, ग्राहक अनुभवमा सुधार तथा कर्मचारीको क्षमता विकासलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

बैंकका शेयरधनीले हामीमाथि गर्नुभएको विश्वास ठूलो जिम्मेवारी हो। बैंकको वित्तीय क्षमता, नियामकीय व्यवस्था र दीर्घकालीन व्यावसायिक आवश्यकताबीच सन्तुलन कायम गर्दै शेयरधनीको लगानीमा उचित प्रतिफल सुनिश्चित गर्न सञ्चालक समिति तथा व्यवस्थापन निरन्तर प्रतिबद्ध रहनेछन्।

यसका लागि बैंकको वित्तीय आधार सुदृढ बनाउने, व्यवसायको गुणस्तर कायम राख्ने र दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिने रणनीतिलाई निरन्तरता दिइनेछ।

माछापुच्छ्रे बैंकले आजसम्म हासिल गरेका उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम मात्र होइनन्। यी उपलब्धि शेयरधनीको विश्वास, ग्राहकको निरन्तर साथ, सञ्चालक समितिको मार्गदर्शन, व्यवस्थापनको नेतृत्व, कर्मचारीको मेहनत तथा नियामक निकायको सहयोगको सामूहिक परिणाम हुन्।

यस अवसरमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज तथा अन्य नियामक एवं सम्बन्धित निकायप्रति हार्दिक आभार व्यक्त गर्दछु। बैंकप्रति निरन्तर विश्वास र सद्भाव राख्नुहुने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, सञ्चारकर्मी, व्यावसायिक साझेदार, शुभचिन्तक तथा अन्य सरोकारवालालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

आगामी दिनमा पनि यहाँहरूको विश्वास, सुझाव, साथ र सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु। प्राप्त विश्वासलाई अझ मजबुत बनाउँदै माछापुच्छ्रे बैंकलाई सुरक्षित, सबल, आधुनिक, जिम्मेवार र दिगो बैंकका रूपमा थप उचाइमा पुर्‍याउन सञ्चालक समिति तथा बैंक व्यवस्थापन सदैव प्रतिबद्ध रहनेछ।

(रोशन के.सी. माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष हुन्। प्रस्तुत लेख उनले बैंकको २८ औं वार्षिक साधारणसभामा दिएको मन्तव्यका आधारमा तयार पारिएको हो।) 

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार