इम्पेरियल सेक्युरिटिजद्वारा बाढी प्रभावितका लागि २४ लाख ४५ हजार रुपैयाँ सहयोग
- BFIS News
- 2026 Sep 10 11:21
काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापनाका लागि २४ लाख ४५ हजार ५४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष भक्तिराम घिमिरेका अनुसार बाढी प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो। विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
इम्पेरियल सेक्युरिटिज नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ब्रोकर नम्बर ४५ को स्टक ब्रोकर कम्पनी हो। सन् २०१२ देखि सञ्चालनमा रहेको कम्पनीले नेपाली पुँजी बजारका लगानीकर्तालाई विभिन्न वित्तीय तथा धितोपत्रसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवार, स्थानीय समुदाय र समग्र राष्ट्रले गम्भीर क्षति तथा चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै कम्पनीले संकटको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व रहेको जनाएको छ।
कम्पनीका अनुसार आर्थिक सहयोगले बाढीबाट भएको अपूरणीय क्षतिको पूर्ण परिपूर्ति गर्न नसके पनि संकटमा परेका परिवार तथा समुदायसँगै रहेको सन्देश दिन सहयोग गरिएको हो। सहयोगलाई प्रभावितप्रतिको सहानुभूति, ऐक्यबद्धता र सहयोगी भावनाको अभिव्यक्तिका रूपमा लिइएको कम्पनीले जनाएको छ।
त्यस्तै, बाढीबाट प्रभावित नागरिकहरूलाई राहत तथा पुनःस्थापनाको प्रक्रियामा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। प्रभावित बीमितहरूले थप असहजता तथा झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई प्राथमिकतामा राख्दै आवश्यक सहजीकरण, समन्वय र सेवा प्रवाहमार्फत सहयोग उपलब्ध गराउने कम्पनीको भनाइ छ।
कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक र सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ। प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनालाई प्रभावकारी रूपमा अघि बढाउन सामूहिक प्रयास, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)



प्रतिक्रिया