हिमालयन रिइन्स्योरेन्सको एक्चुरियल मूल्याङ्कन अन्तिम चरणमा, कम्पनी भन्छ ‘व्यवसाय नियमित छ’ समस्या छैन
- BFIS News
- 2026 Sep 10 12:43
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को एक्चुरियल मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीका अनुसार नयाँ एक्चुरी नियुक्त भइसकेको हुँदा केहि समय भित्रै एक्चुरियल रिपोर्ट प्राप्त हुने जानकारी दिएको छ।
कम्पनीका अनुसार यसअघि नियुक्त भएका एक्चुरीले कम्पनीको विषयमा बजारमा आएका नकारात्मक समाचार तथा विवादसँग सम्बन्धित परिस्थितिका कारण राजीनामा दिएका थिए। त्यसपछि नयाँ एक्चुरी नियुक्त गर्न केही समय लागेको र सोही कारण अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण समयमै तयार गर्न नसकिएको कम्पनीको भनाइ छ।
कम्पनीले हाल भारतीय एक्चुरी पुनित सुदनलाई नियुक्त गरेको छ। उनको नियुक्ति नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ एक्चुरीलाई कम्पनीको वास्तविक अवस्था तथा कानुनी प्रक्रियाबारे जानकारी गराएपछि प्राधिकरणबाट समेत आवश्यक स्वीकृति प्राप्त भएको हो।
भिकुटीसम्बन्धी मुद्दाका कारण रकम रोकिएको दाबी
हिमालयन रि इन्स्योरेन्सको वित्तीय विवरण अनुसार भृकुटी स्टक ब्रोकिङबाट करिब २ अर्ब ७३ करोड रुपैयाँ असुल गर्न बाँकी देखिएको छ। यसका लागि कम्पनीले भिकुटीविरुद्ध मुद्दा दायर भइसकेको र विषय अदालतमा विचाराधीन रहेकाले रकम तत्काल प्राप्त हुन नसकेको हो।
कम्पनीले उक्त रकमलाई कम्पनीको स्थायी वित्तीय क्षति नभई कानुनी प्रक्रियामार्फत रिकभरी हुने रकमका रूपमा व्याख्या गरेको छ। मुद्दा टुंगिएपछि भिकुटीबाट रकम असुल हुने र कम्पनीको सञ्चालनमा अन्य कुनै ठूलो समस्या नरहेको कम्पनीको दाबी छ।
यसअघि हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित विभिन्न विवाद तथा नकारात्मक समाचार सार्वजनिक भएपछि कम्पनीको वित्तीय अवस्थामाथि प्रश्न उठेको थियो। कम्पनीका केही सञ्चालक तथा लगानीकर्तासँग सम्बन्धित विषयसमेत जोडिएपछि कम्पनीमाथि विभिन्न निकायको चासो बढेको थियो। सोही क्रममा सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए।
साउनदेखि पुनर्बीमा व्यवसाय नियमित
कम्पनीले बीमा प्राधिकरणबाट भएको निलम्बनसमेत साउनदेखि हटिसकेको र त्यसयता व्यवसाय नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। कम्पनीका अनुसार साउनदेखि नयाँ पुनर्बीमा ट्रिटी लेखन सुरु भइसकेको छ भने विभिन्न फ्याकल्टेटिभबाट व्यवसायसमेत प्राप्त भइरहेको छ।
कम्पनीले लगानी आम्दानी र प्रिमियम आम्दानी दुवै नियमित रूपमा भइरहेको जनाएको छ। कम्पनीका अनुसार सञ्चालन, व्यवसाय र आम्दानीका दृष्टिले अहिले कुनै असामान्य अवस्था छैन।
नेपाल पुनर्बीमालाई २० प्रतिशत प्रत्यक्ष सेसन
पुनर्बीमा व्यवसायको बाँडफाँटतर्फ नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत प्रत्यक्ष हिस्सा दिने व्यवस्था छ। बाँकी ८० प्रतिशत व्यवसायमध्ये ३० प्रतिशत नेपालका दुई पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था बीमा प्राधिकरणले गरेको छ।
कम्पनीका अनुसार उक्त व्यवस्थाअनुसार नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स दुवैले बाँकी व्यवसायबाट पुनर्बीमा व्यवसाय लिन सक्ने अवस्था छ। कम्पनीले आफ्नो व्यवसायिक सम्भावनालाई यस व्यवस्थाले थप आधार दिएको जनाएको छ।
लेखापरीक्षण ढिलाइले शेयर धितोकर्जामा असर
आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण समयमा सम्पन्न हुन नसक्दा कम्पनीको शेयर कारोबार तथा धितोकर्जासम्बन्धी अवस्थासमेत प्रभावित भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मापदण्डअनुसार समयमा वित्तीय विवरण तथा लेखापरीक्षण पूरा नगर्दा कम्पनी ‘क’ वर्गको सूचीमा नपर्ने अवस्था सिर्जना हुन सक्छ।
त्यसको प्रभावस्वरूप बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीहरूले शेयर धितोमा प्रवाह भएको कर्जामा मार्जिनकल गर्दा शेयरधनीहरु पनि पेनिक भएका छन्। तर, अहिले एक्चुरियल मूल्याङ्कन र लेखापरीक्षणको काम तीव्र रूपमा अघि बढिरहेकाले आगामी दिनमा उक्त समस्या पनि समाधान हुने कम्पनीले जनाएको छ।
कम्पनीले पछिल्लो समय उत्पन्न भएका समस्या मुख्यतः कानुनी विवाद र वित्तीय विवरण तयार गर्ने प्रक्रियामा भएको ढिलाइसँग सम्बन्धित रहेको स्पष्ट पार्दै नियमित व्यावसायिक सञ्चालनमा भने कुनै अवरोध नरहेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)



प्रतिक्रिया