NIMB Header 2
Prabhu Mahalaxmi

दिपेन्द्र अग्रवालको कारोबार रोक्का हुँदा मार्जिन कलमा बैंकहरु निरिह,

United Ajod
  • BFIS News
  • 2026 Oct 05 21:56
दिपेन्द्र अग्रवालको कारोबार रोक्का हुँदा मार्जिन कलमा बैंकहरु निरिह,
IME LIFE

काठमाडौं । शेयर बजारका ठुला लगानीकर्ता दिपेन्द्र अग्रवालको कारोबार रोक्का हुँदा उनको मार्जिन कलमा बैंकहरु निरिह देखिएका छन्। जसले बैंकहरुको लगानी नै जोखिममा परेको छ। 

Nepal Life
NIMB

शेयर बजारमा लगातार गिरावट आएपछि मार्जिन कलको दबाबमा रहेका अग्रवाल न त आफैले पैसा तिर्न सक्छन् न त बैंकले शेयर बिक्री गरेर कर्जा मिनाहा गर्न सक्छ। यसरी बैंक तथा वित्तीय संस्थाले समेत धितो बिक्री गरेर कर्जा असुली गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

सरकारले अग्रवालसहित उनकी श्रीमती, बाबुआमा र भाइको समेत शेयर कारोबार रोक्का गरेको छ। उनीहरूको बैंक खाता, डिम्याट खाता तथा टीएमएससमेत रोक्का रहेको छ।

अग्रवालले बैंक तथा वित्तीय संस्थामा शेयर धितो राखेर अर्ब रुपैयाँ हाराहारीमा मार्जिन कर्जा लिएका छन्। पछिल्लो समय शेयर बजारमा आएको निरन्तर गिरावटका कारण उनको धितोको मूल्य घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाबाट मार्जिन कल आउन थालेको उनि आफैले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।  

तर, शेयर कारोबार  र बैंक खाता दुबै रोक्का रहेकाले मार्जिन कल पूरा गर्न अग्रवालले थप रकम जम्मा गर्न वा धितोमा रहेको शेयर बिक्री गर्न सक्ने अवस्था छैन। अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाले पनि मार्जिन कलअनुसार धितोमा रहेको शेयर बिक्री गरी कर्जा असुल गर्न नपाउने अवस्था देखिएको छ।

यसले शेयर बजारमा कारोबार रोक्काको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिममा पर्न सक्ने प्रश्न उठाएको छ। एकातर्फ बैंकहरूले कर्जा सुरक्षणका रूपमा राखिएको शेयर बिक्री गर्न नसक्ने र अर्कोतर्फ ऋणीले समेत शेयर धितोकर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न कठिनाइ हुने अवस्था सिर्जना भएको छ।

अग्रवालले सामाजिक सञ्जालमार्फत मार्जिन कल आएको उल्लेख गर्दै अब के गर्ने भन्ने प्रश्नसमेत उठाएका छन्। कारोबार रोक्का भएका कारण मार्जिन कल व्यवस्थापन गर्न कठिनाइ भएको उनको भनाइ छ।

अग्रवालको कारोबार शैलीलाई लिएर यसअघि पनि बजारमा प्रश्न उठ्दै आएको छ। आलोचकहरूले निश्चित कम्पनीको शेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने गरी कारोबार हुने गरेको आरोप लगाउँदै आएका छन्। विशेषगरी ‘पम्प एन्ड डम्प’ शैलीमा शेयर मूल्य प्रभावित पारेर लाभ लिने प्रवृत्तिले बजारको पारदर्शिता र लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने उनीहरूको तर्क छ।

शेयर बजारमा कानुनी दायराभित्र हुने कारोबार र गैरकानुनी वा बजार प्रभावित पार्ने कारोबारबीचको सीमाबारे पनि पछिल्लो घटनाले प्रश्न उठाएको छ। नियामक निकायले अस्वाभाविक कारोबार, कृत्रिम रूपमा मूल्य प्रभावित पार्ने गतिविधि तथा लगानीकर्ताको हितविपरीत हुने कारोबारमाथि निगरानी र अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको बजार विश्लेषकहरूको भनाइ छ।

विशेषगरी बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताको कोष सर्वसाधारणसँग सम्बन्धित हुने भएकाले त्यस्तो रकमको लगानीमा हुने अस्वाभाविक गतिविधिले समग्र बजारमै जोखिम बढाउन सक्ने चिन्ता छ।

अग्रवालको कारोबार रोक्का प्रकरणले भने अर्को महत्वपूर्ण प्रश्नसमेत उठाएको छ, कुनै लगानीकर्ताको कारोबार रोक्का गर्दा त्यससँग जोडिएको बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रक्रियालाई कसरी व्यवस्थापन गर्ने?

बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गरेको कर्जा सुरक्षित गर्न नसक्ने अवस्था लामो समयसम्म कायम रहेमा त्यसको असर सम्बन्धित ऋणीमा मात्र नभई कर्जा गुणस्तर र जोखिम व्यवस्थापनमा समेत पर्न सक्ने देखिन्छ। त्यसैले कारोबार रोक्का गर्ने निर्णयसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा सुरक्षण र असुली प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषय पनि महत्वपूर्ण बनेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया