ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- BFIS News
- 2026 Oct 06 16:45
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकमा रहँदा रेग्मीले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कस्थित कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। यी संरचनामार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
बैंकले विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा समेत काम गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)
.jpeg)



प्रतिक्रिया