नबिल बैंकलाई आर्थिक रूपान्तरणको साझेदार बनाउने सिइओ ज्ञवालीको प्रतिबद्धता
- BFIS News
- 2026 Oct 08 12:25
काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकलाई वित्तीय सेवा प्रदायक संस्थामा मात्र सीमित नराखी आर्थिक रूपान्तरण र राष्ट्रिय विकासको साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकको ४२औँ वार्षिक साधारणसभाका अवसरमा आफ्नो धारणा राख्दै ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ मा विश्वव्यापी भू–राजनीतिक तनाव, प्रविधिमा तीव्र परिवर्तन तथा घरेलु आर्थिक र नीतिगत अनिश्चितताबीच बैंकिङ क्षेत्रले चुनौती र अवसर दुवै सामना गरेको बताए। यस्तो परिस्थितिमा पनि नबिल बैंकले वित्तीय सुदृढता, विवेकपूर्ण जोखिम व्यवस्थापन, ग्राहककेन्द्रित सेवा र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर व्यवसाय अघि बढाएको उनको भनाइ छ।
उनका अनुसार मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनाव तथा द्वन्द्वले ऊर्जा र वस्तुको मूल्यमा दबाब सिर्जना गरेको थियो। अर्कोतर्फ, कृत्रिम बुद्धिमत्तासहित प्रविधिमा भइरहेको तीव्र लगानीले उत्पादकत्व र आर्थिक गतिविधिका लागि नयाँ सम्भावना सिर्जना गरेको उनले बताए।
नेपालमा आन्तरिक राजनीतिक तथा नीतिगत परिवर्तनबाट उत्पन्न अनिश्चितताका कारण आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा केही सुस्त भए पनि उच्च विदेशी विनिमय सञ्चिति, उल्लेख्य विप्रेषण आप्रवाह, शोधनान्तर बचत तथा सहज तरलताले समष्टिगत आर्थिक स्थायित्वलाई आधार दिएको ज्ञवालीले बताए। कर्जा मागमा आएको संकुचन तथा कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा बैंकले वासलातको गुणस्तर, पूँजीगत आधार र दीर्घकालीन शेयरधनी प्रतिफललाई प्राथमिकतामा राखेर व्यवस्थापन गरेको उनले उल्लेख गरे।
रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपद्ले जलवायु परिवर्तन र प्राकृतिक जोखिमप्रति थप सजग हुनुपर्ने आवश्यकता उजागर गरेको ज्ञवालीले बताए। विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दिगो, सुरक्षित तथा विपद् प्रतिरोधी विकासलाई प्रोत्साहन गर्ने वित्तीय अभ्यासलाई थप सुदृढ बनाउने बताए।
जलवायु तथा वातावरणीय जोखिमबाट बैंकको सञ्चालन र कर्जा पोर्टफोलियोमा पर्न सक्ने प्रभावको पहिचान, मूल्याङ्कन तथा न्यूनीकरणलाई जोखिम व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा अघि बढाइएको उनले बताए।
चुनौतीपूर्ण परिस्थितिमा बैंकले व्यावसायिक विविधीकरण, ग्राहककेन्द्रित सेवा, डिजिटल नवप्रवर्तन, दक्षता अभिवृद्धि तथा प्रभावकारी जोखिम व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ गरेको ज्ञवालीको भनाइ छ। व्यवसाय विस्तारको परिमाणभन्दा गुणस्तरीय, दिगो र जिम्मेवार वृद्धिलाई प्राथमिकता दिँदै दीर्घकालीन मूल्य सिर्जनाको रणनीतिलाई निरन्तरता दिइएको उनले बताए।
प्रविधि, डेटा तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै बैंकिङ सेवा थप सरल, सुरक्षित, पहुँचयोग्य र ग्राहकमैत्री बनाउने दिशामा पहल भइरहेको उनले उल्लेख गरे। यससँगै साइबर सुरक्षा, डेटा गोपनीयता, आन्तरिक नियन्त्रण तथा सञ्चालन जोखिम व्यवस्थापनलाई पनि संस्थागत प्राथमिकताका रूपमा सुदृढ बनाइएको उनले बताए।
कर्जा विस्तारतर्फ बैंकले परिमाणात्मक वृद्धिभन्दा गुणस्तरीय र उत्पादनमूलक वित्तपोषणलाई प्राथमिकता दिएको ज्ञवालीले बताए। कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय तथा साना तथा मझौला उद्यमजस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा सन्तुलित जोखिम व्यवस्थापनका साथ वित्तीय स्रोत परिचालन गर्ने रणनीति कायम राखिएको उनले उल्लेख गरे।
संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य तथा वातावरणीय, सामाजिक र सुशासन (ESG) सम्बन्धी सिद्धान्तसँग सामञ्जस्य कायम गर्दै बैंकले ‘बियोन्ड बैंकिङ’ अवधारणाअन्तर्गत हरित वित्त, वित्तीय समावेशिता, महिला तथा युवा उद्यमशीलता, साना तथा मझौला व्यवसाय प्रवर्द्धन तथा सामाजिक प्रभाव सिर्जनासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको ज्ञवालीले बताए।
नेपालको दीर्घकालीन आर्थिक सम्भावनाप्रति बैंक विश्वस्त रहेको उल्लेख गर्दै उनले आगामी वर्षमा गुणस्तरीय तथा विवेकपूर्ण वृद्धि, ग्राहक अनुभव र डिजिटल क्षमताको निरन्तर सुधार तथा सुशासन, पूँजी र जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने बताए।
यी प्राथमिकतामार्फत शेयरधनी, ग्राहक, कर्मचारी तथा समग्र समाजका लागि दिगो लाभ सिर्जना गर्ने बैंकको प्रतिबद्धता रहेको उनले बताए।
नबिल बैंकको ४२ वर्ष लामो यात्रामा निरन्तर मार्गनिर्देशन, सहयोग र योगदान गर्ने नेपाल राष्ट्र बैंक, नियामक निकाय, सञ्चालक समिति, शेयरधनी, ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाप्रति ज्ञवालीले आभार व्यक्त गरे। उनीहरूको विश्वास र समर्थनले बैंकलाई उत्कृष्टता, नवप्रवर्तन र दिगोपनतर्फ अघि बढ्न निरन्तर ऊर्जा प्रदान गरेको उनले बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)


प्रतिक्रिया