नेशनल लाइफकी शर्मिला अर्याल लगातार तेस्रो पटक सिओटी बन्न सफल, ६ हजारभन्दा बढीलाई बीमाको सुरक्षा दिँदै
- BFIS News
- 2026 Oct 27 15:34
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी वरिष्ठ प्रमुख व्यवसाय प्रबन्धक (सिनियर चिफ बिजनेस म्यानेजर) शर्मिला अर्याल पाण्डे सन् २०२७ का लागि कोर्ट अफ द टेबल (सिओटी) उपाधि हासिल गर्न सफल भएकी छन्। कम्पनीको मणिग्राम शाखामा कार्यरत उनले यस वर्ष करिब दुई करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दै लगातार तेस्रो पटक सिओटी बनेकी हुन्।
उनले विगत सात वर्षदेखि लगातार मिलियन डलर राउन्ड टेबल (MDRT) को योग्यता हासिल गर्दै आएकी छन्। यसअघि पाँच पटक एमडीआरटी बन्न सफल उनी सन् २०२५, २०२६ र २०२७ मा सीओटीको लक्ष्य पूरा गर्न सफल भइन्।
बीमा क्षेत्रमा प्रवेश गरेको सात वर्षमै उनको यो सफलता बीमा क्षेत्रमा काम गर्ने जो कोहिका लागि सफलताको मानक बनेको छ।निरन्तरको मेहनत, व्यावसायिक दक्षता, ग्राहकसँगको सम्बन्ध र बीमाप्रतिको समर्पणले कसरी एउटा महिलालाई सफलताको शिखरतर्फ अघि बढाउन सक्छ भन्ने उदाहरण पनि हो।
शर्मिलाको सफलताको कथा एउटै उपलब्धिमा सीमित छैन। उनले बीमा अभिकर्ताका रूपमा काम गर्न थालेदेखि नै आफ्नो व्यावसायिक लक्ष्यलाई निरन्तर उचाइ दिँदै आएकी छन्।
एमडीआरटी जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा आबद्ध व्यावसायिक व्यक्तिहरूको अन्तर्राष्ट्रिय संस्था हो। यसअन्तर्गतको सीओटी योग्यता हासिल गर्नु उच्च व्यावसायिक उपलब्धिका रूपमा लिइन्छ। यस्तो उपलब्धिका लागि व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास जित्ने र निर्धारित मापदण्डअनुसार बीमाशुल्क आर्जन गर्ने क्षमता आवश्यक पर्छ।
शर्मिलाले आर्थिक वर्ष २०८२/८३ मा व्यक्तिगत अभिकर्ता कोडअन्तर्गत नेपालभरिबाट प्रथम स्थान हासिल गरेकी थिइन्। यसले उनको सफलता कुनै एउटा शाखा वा सीमित क्षेत्रको उपलब्धिमा मात्र आधारित नरहेको देखाउँछ।
सुरुका वर्षदेखि नै निरन्तर एमडीआरटी बन्ने, त्यसपछि सीओटीको लक्ष्य हासिल गर्ने र व्यक्तिगत कोडमा देशभर प्रथम हुनेसम्मको उनको यात्रा मेहनत र निरन्तरताको परिणाम हो।

बेलायतबाट फर्किएर आफ्नै देशमा केही गर्ने अठोट
शर्मिलाको व्यावसायिक यात्राको पृष्ठभूमि पनि रोचक छ। उनी उच्च शिक्षाका लागि पाँच वर्ष बेलायतमा बसेकी थिइन्। त्यहाँ उनले मार्केटिङमा स्नातक तहको अध्ययन पूरा गरिन्। विदेशमा अध्ययन पूरा गरेपछि उतै आफ्नो भविष्य खोज्न सक्ने अवसर उनीसँग थियो। तर, नेपालमै केही गर्ने सोचले उनलाई स्वदेश फर्कायो।
नेपाल आएपछि उनले केही समय विद्यालयमा अध्यापनसमेत गरिन्। शिक्षण पेसाको अनुभव लिइसकेकी शर्मिलाले त्यसपछि बीमा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरिन्।
बीमा अभिकर्ताको काम सुरु गर्दा उनका अगाडि चुनौती कम थिएनन्। मानिसलाई बीमाको आवश्यकता बुझाउनु, बीमा गराउन विश्वास दिलाउनु र लामो समयसम्म ग्राहकसँग सम्बन्ध कायम राख्नु सहज काम होइन। तर, उनले यही चुनौतीलाई आफ्नो व्यावसायिक यात्राको अवसर बनाइन्।
सात वर्षअघि सुरु गरेको काममा निरन्तर लागिरहँदा उनले पछाडि फर्केर हेर्नुपरेको छैन। आज उनी बीमा व्यवसायमा पूर्णकालीन रूपमा सक्रिय छिन्। घरपरिवारको जिम्मेवारी निर्वाह गर्दै व्यावसायिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेकी छन्।
सय जनालाई बुझाउँदा १० जनामात्रै तयार हुन्छन्
बीमा क्षेत्रमा शर्मिलाले हासिल गरेको सफलता जति आकर्षक छ, त्यसको पछाडिको संघर्ष त्यति नै चुनौतीपूर्ण छ। उनका अनुसार नेपालमा बीमाको महत्व बुझाउन र मानिसलाई बीमा गर्न तयार पार्न निकै कठिन छ।
“१०० जनालाई बीमाको प्रस्ताव गर्दा १० जनाले मात्रै बीमा गर्न मान्नुहुन्छ,” उनी आफ्नो अनुभव सुनाउँछिन्, “सुरुमा त अभिकर्ताले कमिसनका लागि बीमा गराउन खोजेको भन्ने बुझाइ छ। आफ्नो सुरक्षाका लागि बीमा गर्नेभन्दा पनि अभिकर्ताले कमिसन कमाउन खोजेको हो भन्ने सोचले काम गर्न गाह्रो बनाउँछ।”
उनको अनुभवमा बीमासम्बन्धी पर्याप्त जानकारी नहुँदा अभिकर्ताले ग्राहकको विश्वास जित्न धेरै समय खर्चिनुपर्छ। ग्राहकका कुरा सुन्ने, उनीहरूको आर्थिक अवस्था बुझ्ने र आवश्यकताअनुसार बीमाको महत्व स्पष्ट पार्ने काममा धैर्य आवश्यक हुन्छ।
त्यसैले उनी ग्राहकलाई सीधै बीमा गर्न आग्रह गर्नुभन्दा पहिले उनीहरूको आवश्यकता बुझ्ने प्रयास गर्छिन्। ग्राहकका जिज्ञासा सुन्छिन्, आशंका हटाउँछिन् र बीमाले भविष्यमा दिन सक्ने आर्थिक सुरक्षाबारे जानकारी गराउँछिन्।
“अवस्था जटिल भए पनि हामीले बीमाको बारेमा राम्रोसँग बुझाउन सक्यौँ भने बीमा गराउन सकिन्छ,” उनी भन्छिन्।
पछिल्लो समय सहकारी संस्थाहरू समस्यामा परेका घटनाले पनि सर्वसाधारणलाई वित्तीय कारोबारप्रति सशंकित बनाएको उनको अनुभव छ। यस्तो अवस्थामा बीमाको वास्तविक प्रकृति, उद्देश्य र लाभबारे सही जानकारी दिनु अभिकर्ताको जिम्मेवारी भएको उनी मान्छिन्।

६ हजारभन्दा बढी परिवारसँग जोडिएको सम्बन्ध
शर्मिलाले अहिलेसम्म ६ हजारभन्दा बढी व्यक्तिको बीमा गराइसकेकी छन्। यो संख्या उनको व्यावसायिक सफलताको सूचक मात्र होइन, उनले वर्षौँदेखि निर्माण गरेको ग्राहक सम्बन्धको प्रमाण पनि हो।
उनका अधिकांश बीमित बुटवल र आसपासका क्षेत्रका छन्। स्थानीय ग्राहकसँग निरन्तर सम्पर्कमा रहन पाउँदा उनीहरूको आर्थिक अवस्था, पारिवारिक आवश्यकता र समस्याबारे बुझ्न सहज भएको छ। यही सम्बन्धले नयाँ ग्राहकसम्म पुग्न पनि मद्दत गरेको छ।
उनका अनुसार सन्तुष्ट ग्राहक नै नयाँ ग्राहकसम्म पुग्ने माध्यम बनेका छन्। एकपटक बीमा गराएका ग्राहकले आफ्ना आफन्त, साथीभाइ तथा चिनजानका व्यक्तिलाई उनको कामबारे जानकारी गराउँदा व्यवसाय विस्तारमा सहयोग पुगेको छ।
शर्मिलाले न्यून आय भएका परिवारदेखि व्यावसायिक क्षेत्रका व्यक्तिसम्मलाई बीमाको दायरामा ल्याएकी छन्। उनी ग्राहकलाई बीमा गराएर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्दिनन्। बीमालेख नवीकरणको समय आएपछि आफैँ सम्पर्क गर्छिन् र बीमाशुल्क भुक्तानीका लागि सम्झाउँछिन्।
बीमा व्यवसायमा नयाँ ग्राहक जोड्नु जति महत्वपूर्ण छ, पुराना ग्राहकसँगको सम्बन्ध कायम राख्नु पनि उत्तिकै आवश्यक रहेको उनको बुझाइ छ। त्यसैले उनी ग्राहकलाई बीमा गराउने व्यक्तिका रूपमा मात्र नभई आवश्यक पर्दा सहयोग गर्ने विश्वासिलो माध्यमका रूपमा स्थापित हुन चाहन्छिन्।
बैंकको ब्याजभन्दा बचत र सुरक्षाको दोहोरो लाभ
पछिल्लो समय आर्थिक गतिविधिमा देखिएका चुनौतीका बीच बीमाको महत्व अझ बढेको शर्मिलाको विश्लेषण छ। बैंकको ब्याजदर घट्नु र घरजग्गा कारोबारमा मन्दी आउनुले मानिसलाई बचत तथा लगानीका विकल्पबारे पुनर्विचार गर्न बाध्य बनाएको उनी बताउँछिन्।
“बीमाले मानिसलाई अनुशासित रूपमा बचत गर्न सिकाएको छ। अहिले बैंकको ब्याजदर निकै कम छ। घरजग्गाको कारोबारमा पनि मन्दी आइरहेको अवस्थामा बीमा लगानी, बचत र सुरक्षाका दृष्टिकोणबाट महत्वपूर्ण विकल्प बनेको छ,” उनी भन्छिन्।
उनका अनुसार बीमालाई केवल प्रतिफल प्राप्त गर्ने माध्यमका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसले नियमित बचत गर्ने बानी विकास गर्नुका साथै बीमालेखको सर्तअनुसार जोखिमको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्न सक्छ।
उनी बीमालाई मानिसको जीवनमा खाना जत्तिकै महत्वपूर्ण ठान्छिन्। जसरी दैनिक जीवन चलाउन खानाको आवश्यकता पर्छ, त्यसरी नै भविष्यमा आइपर्न सक्ने अनिश्चिततासँग जुध्न आर्थिक सुरक्षाको आवश्यकता पर्ने उनको तर्क छ।
“भोलि केही भइहाल्यो भने परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्न बीमाले सहयोग गर्छ,” उनी भन्छिन्।
उनको विचारमा बीमाले परिवारको आर्थिक अवस्था कमजोर हुन नदिन सहयोग पुर्याउन सक्छ। विशेषगरी परिवारको आम्दानीको मुख्य स्रोत गुमेको अवस्थामा बीमालेखअनुसार प्राप्त हुने दाबी भुक्तानीले आश्रित परिवारलाई आर्थिक सहारा दिन सक्छ।
दाबी भुक्तानीले दिएको आत्मसन्तुष्टि
शर्मिलालाई बीमा क्षेत्रमा निरन्तर लागिरहन प्रेरित गर्ने महत्वपूर्ण पक्षमध्ये एक हो—बीमाबाट वास्तविक लाभ पाएका परिवारको अनुभव।
उनले बीमा गराएका एक बीमितको मृत्यु भएपछि सम्बन्धित कम्पनीले मृतकको परिवारलाई सहज रूपमा दाबी भुक्तानी गरेको अनुभव सुनाउँछिन्। परिवारले कठिन परिस्थितिमा बीमाबाट आर्थिक सहायता पाएको देख्दा उनलाई आफ्नो कामको वास्तविक महत्व महसुस भयो।
बीमा गराउँदा ग्राहकलाई बुझाउनुपर्ने कठिनाइ, उनीहरूका प्रश्नको जवाफ दिनुपर्ने अवस्था र लामो समयसम्म सम्पर्कमा रहनुपर्ने जिम्मेवारीबीच दाबी भुक्तानीको क्षणले उनको कामप्रतिको दृष्टिकोण अझ बलियो बनाएको छ।
उनका लागि बीमा व्यवसाय केवल व्यवसाय विस्तार र बीमाशुल्क आर्जनमा सीमित छैन। यसले कठिन समयमा परिवारलाई आर्थिक सहारा प्रदान गर्न सक्ने भएकाले यो सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ।
“बीमाले मानिसलाई अप्ठ्यारो परिस्थितिमा आर्थिक रूपमा कमजोर हुनबाट जोगाउन सहयोग गर्छ,” उनको बुझाइ छ।
बीमितको परिवारले दाबी भुक्तानी प्राप्त गरेको देख्दा आफूले गरेको काम सार्थक भएको महसुस हुने उनी बताउँछिन्। यही अनुभवले उनलाई आगामी दिनमा पनि बीमाको महत्व बुझाउँदै अघि बढ्न ऊर्जा दिएको छ।
परिवारको साथ, व्यावसायिक सफलताको आधार
बीमा क्षेत्रमा शर्मिलाको सफलताका पछाडि उनको व्यक्तिगत मेहनतसँगै पारिवारिक सहयोगको पनि महत्वपूर्ण भूमिका छ। घरपरिवार र छोरीहरूको हेरचाहपछि उपलब्ध हुने अधिकांश समय उनले बीमा व्यवसायमा खर्चिँदै आएकी छन्। ग्राहकसँग भेटघाट, बीमासम्बन्धी परामर्श, नयाँ व्यवसायको खोजी र पुराना बीमितसँगको सम्पर्कलाई उनले आफ्नो दैनिक कार्यशैलीको हिस्सा बनाएकी छन्।
यस यात्रामा उनका श्रीमान्को साथ र सहयोग महत्वपूर्ण रहेको उनी बताउँछिन्। पारिवारिक जिम्मेवारीलाई व्यवस्थापन गर्दै व्यावसायिक लक्ष्यतर्फ अघि बढ्न परिवारबाट प्राप्त सहयोगले सहज बनाएको छ।
बीमा अभिकर्ताको काममा नियमित कार्यालय समयको बाध्यता नहुने र आफ्नो समयअनुसार काम व्यवस्थापन गर्न सकिने भएकाले पनि यो पेसा उनका लागि उपयुक्त बनेको छ। तर, समयको स्वतन्त्रतासँगै आफ्नो कामप्रति अनुशासन र प्रतिबद्धता आवश्यक पर्ने उनको अनुभव छ।
शर्मिलाले बीमा क्षेत्रमा लागेर परिवारको आर्थिक अवस्थामा पनि योगदान पुर्याएकी छन्। उनको यात्राले महिलाले घरपरिवारको जिम्मेवारी निर्वाह गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न र व्यावसायिक पहिचान निर्माण गर्न सक्छन् भन्ने सन्देश दिएको छ।

कम्पनीको साथले सहज बनाएको यात्रा
व्यक्तिगत मेहनत र ग्राहकको विश्वास सफलताको आधार भए पनि संस्थागत सहयोगले त्यसलाई थप प्रभावकारी बनाउन सक्ने शर्मिलाको अनुभव छ।
उनको व्यावसायिक यात्रामा नेशनल लाइफ इन्स्योरेन्सले महत्वपूर्ण सहयोग गरेको छ। नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायसँग सम्बन्धित कागजात तथा प्रक्रियामा कडाइ गर्दै जाँदा कम्पनीबाट प्राप्त सहजीकरणले काम गर्न सहज भएको उनी बताउँछिन्।
कम्पनीको प्रोत्साहन, आवश्यक सहयोग र व्यावसायिक वातावरणले आफ्नो लक्ष्य हासिल गर्न मद्दत पुगेको उनको भनाइ छ।
त्यसैगरी, कम्पनीको बोनसदरसम्बन्धी जानकारीले पनि ग्राहकलाई बीमा बुझाउन सहयोग पुगेको उनी बताउँछिन्। उनका अनुसार बीमितलाई बीमालेखको प्रकृति, लाभ, जोखिम र सर्तबारे स्पष्ट जानकारी गराउनु महत्वपूर्ण हुन्छ। बोनसदरलाई मात्र आधार बनाएर निर्णय गर्नुभन्दा सम्बन्धित बीमालेखका सर्त तथा सुविधासमेत बुझ्नुपर्ने उनको बुझाइ छ।
कम्पनीले उनलाई व्यावसायिक विकासका अवसर पनि प्रदान गरेको छ। नेशनल लाइफबाटै उनले श्रीलङ्का इन्स्योरेन्स इन्स्टिच्युटमा बीमासम्बन्धी तालिम लिने अवसर पाएकी थिइन्। थाइल्यान्ड र श्रीलङ्कालगायतका देश भ्रमण गर्ने अवसरसमेत उनले बीमा क्षेत्रमै काम गरेर प्राप्त गरेकी छन्। नेपालका विभिन्न स्थानमा पुग्ने अवसरले पनि उनको व्यावसायिक अनुभव विस्तार गर्न सहयोग गरेको छ।

सफलताको यात्रामा नयाँ लक्ष्य
शर्मिलाको उपलब्धिमा नेशनल लाइफको मणिग्राम शाखाले पनि गर्व व्यक्त गरेको छ। शाखा परिवारले उनलाई लगातार तेस्रो पटक सीओटी योग्यता हासिल गरेकोमा बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना दिएको छ।
कम्पनीले समेत सन् २०२७ का सीओटी उपलब्धि हासिल गरेकी प्रमुख व्यवसाय प्रबन्धक शर्मिला अर्याल पाण्डेलाई बधाई दिँदै उनको योगदान र समर्पित प्रयासप्रति आभार व्यक्त गरेको छ।
तर, शर्मिलाका लागि सीओटीको उपलब्धि यात्राको अन्तिम बिन्दु होइन। बीमा व्यवसायमा निरन्तर सक्रिय रहनु, थप मानिसलाई बीमाको दायरामा ल्याउनु र ग्राहकको विश्वास कायम राख्नु उनका आगामी प्राथमिकता हुन्।
सफलता केवल लक्ष्य पूरा गर्नु होइन, आफूले गरेको कामबाट अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो। पाँच वर्ष बेलायतमा अध्ययन गरेर स्वदेश फर्किएकी शर्मिलाले नेपालमै आफ्नो व्यावसायिक भविष्य निर्माण गरिन्। विद्यालयमा अध्यापन गरेकी उनी आज बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्। सात वर्षको अवधिमा हजारौँ व्यक्तिलाई बीमाको दायरामा ल्याउँदै लगातार तीन पटक सीओटी बन्न सफल हुनु उनको निरन्तर प्रयासको परिणाम हो।
६ हजारभन्दा बढी व्यक्तिको बीमा गराइसकेकी शर्मिला आज केवल सफल अभिकर्ता मात्र होइनन्, महिलाले पनि व्यावसायिक क्षेत्रमा नेतृत्वदायी उपलब्धि हासिल गर्न सक्छन् भन्ने उदाहरणसमेत बनेकी छन्। उनको सफलताको वास्तविक अर्थ तीन पटक सीओटी बन्नुमा मात्र सीमित छैन; बीमालाई बुझाउन कठिन मानिने समाजमा हजारौँ मानिसलाई आर्थिक सुरक्षा र नियमित बचतको महत्व बुझाउँदै अघि बढ्नुमा पनि छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया