हकप्रदको हल्लाले कुनै समय २०१० रुपैयाँसम्म पुगेको नेपाल पुनर्बीमाको शेयर कतिसम्म पुग्ला?
- BFIS News
- 2026 Nov 04 17:03
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयरमा एकपटक फेरि लगानीकर्ताको आकर्षण बढेको छ। नेपाल सरकारले कम्पनीको थप हकप्रद शेयरमा लगानी गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएसँगै दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
नेपाल पुनर्बीमाको हकप्रद शेयर निष्काशनको विषय लामो समयदेखि चर्चामा रहे पनि सरकारको निर्णय अभावमा प्रक्रिया अघि बढ्न सकेको थिएन। कम्पनीको प्रमुख शेयरधनीसमेत रहेको सरकारले थप हकप्रद शेयरमा लगानी गर्ने प्रस्तावलाई स्वीकृति दिएपछि अब पूँजी विस्तारको बाटो खुल्ने अपेक्षा गरिएको छ।
कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद शेयरमार्फत लगानी बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो। सरकारको यो निर्णयले लामो समयदेखि अन्योलमा रहेको हकप्रद शेयर निष्काशन प्रक्रियालाई अगाडि बढाउन आधार तयार गरेको छ।
हकप्रदको चर्चाले विगतमा २ हजार १० रुपैयाँ पुगेको थियो शेयर मूल्य
नेपाल पुनर्बीमा कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएदेखि नै लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। विशेषगरी ठूला लगानीकर्ताको रोजाइमा परेको कम्पनीको शेयरमा पछिल्लो ६ वर्षमा उल्लेख्य उतारचढाव देखिएको छ।
कम्पनीको शेयर मूल्यले वि.सं. २०७७/७८ अर्थात् सन् २०२१ को जुन महिनामा प्रतिकित्ता २ हजार १० रुपैयाँसम्म पुगेर ऐतिहासिक उच्च मूल्य कायम गरेको थियो। त्यतिबेला कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ थियो।
त्यस समयमा पनि कम्पनीको हकप्रद शेयर निष्काशन हुने चर्चाले दोस्रो बजारमा यसको शेयरप्रति आकर्षण बढाएको थियो। दैनिक कारोबार रकम र शेयर कारोबारका आधारमा समेत कम्पनी चर्चामा रहने गरेको थियो। तर, कम्पनीको सर्वसाधारणतर्फको शेयर हिस्सा १६ प्रतिशत मात्रै रहेकाले बजारमा उपलब्ध शेयरको आपूर्ति सीमित थियो।
यसबीच कम्पनीले तीन पटक बोनस शेयर वितरण गरिसकेको छ। बोनस शेयर वितरणका कारण कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँबाट बढेर हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुगेको छ।
सरकार सबैभन्दा ठूलो शेयरधनी
नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको सबैभन्दा ठूलो स्वामित्व रहेको छ। कम्पनीको शेयर संरचनाअनुसार अर्थ मन्त्रालय तथा सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी सरकारी स्वामित्वमा ४४.०४ प्रतिशत शेयर रहेको छ।
त्यस्तै, सर्वसाधारणको स्वामित्व १६ प्रतिशत छ भने बाँकी करिब ३९.९७ प्रतिशत शेयर संस्थागत लगानीकर्तासँग रहेको छ। संस्थागत लगानीकर्तामा जीवन तथा निर्जीवन बीमा कम्पनी, बैंक तथा विभिन्न व्यावसायिक समूह छन्।
कम्पनीका प्रमुख संस्थागत शेयरधनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको ३.८३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.२४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७७ प्रतिशत शेयर स्वामित्व रहेको छ।
त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको समान १.६८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.५६ प्रतिशत तथा विशाल ग्रुपको १.३८ प्रतिशत शेयर रहेको छ।
अब कति पुग्ला शेयर मूल्य?
सरकारको सैद्धान्तिक स्वीकृतिसँगै नेपाल पुनर्बीमाको हकप्रद शेयर निष्काशनसम्बन्धी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यसले कम्पनीको पूँजी विस्तारमा सहयोग पुग्ने भए पनि हकप्रद शेयर निष्काशनको अन्तिम प्रक्रिया, अनुपात, मूल्य तथा नियामकीय स्वीकृतिलगायतका विषय अझै महत्त्वपूर्ण रहनेछन्।

विगतमा हकप्रद शेयरको चर्चाकै बीच प्रतिकित्ता २ हजार १० रुपैयाँसम्म पुगेको कम्पनीको शेयर मूल्य अहिले पुनः लगानीकर्ताको चासोको विषय बनेको छ। सरकारको निर्णयपछि लागेको सकारात्मक सर्किटले बजारमा उत्साह थपे पनि यसले शेयर मूल्यको आगामी दिशा सुनिश्चित गर्दैन तर नयाँ मूल्य निर्धारण गर्नेमा निश्चित छ।

हकप्रद शेयरको सम्भावना, कम्पनीको वित्तीय अवस्था, पूँजी संरचना, बजारमा शेयरको आपूर्ति र समग्र पूँजीबजारको अवस्थाले आगामी मूल्य निर्धारणमा भूमिका खेल्नेछन्। आज कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १२० रुपैयाँले बढेर ९२१ रुपैयाँ पुगेको नेपाल पुनर्बीमाको शेयर मूल्य एक वर्षको अवधिमा सर्वाधिक धेरै १३९२ रुपैयाँ पुगेको थियो। 
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)











प्रतिक्रिया