Siddartha Bank
Prabhu Mahalaxmi

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, राष्ट्र बैंकमा तीन दशकको अनुभव

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 04 22:12
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त, राष्ट्र बैंकमा तीन दशकको अनुभव
United Ajod

काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Siddartha Bank
EBL
Nepal Life

नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको श्रेय वृद्धि र संस्थागत सुधारका लागि निडर तथा निर्धक्क भएर काम गर्न थापालाई निर्देशन दिएका छन्।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेको अनुभव भएका थापा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका जानकार हुन्। उनी यसअघि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

केन्द्रीय बैंकमा करिब तीन दशकको अनुभव

थापाले सन् १९९७ मा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए। त्यसपछि उनले सहायक निर्देशक, उपनिर्देशक, निर्देशक हुँदै कार्यकारी निर्देशकसम्मका विभिन्न जिम्मेवारी सम्हालेका छन्।

उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कर्पोरेट योजना विभाग, वीरगञ्ज कार्यालय तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा काम गरेका छन्। सन् २०२४ मा केही समय राष्ट्र बैंकको गभर्नर कार्यालयमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए।

बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण, जोखिममा आधारित निरीक्षण प्रणाली, पुँजी पर्याप्तता, वित्तीय स्थायित्व तथा उपभोक्ता संरक्षणसम्बन्धी नीतिगत र संस्थागत काममा उनको अनुभव छ। नेपालमा जुलाई २००८ देखि लागू भएको बासेल–२ पुँजी पर्याप्तता ढाँचाको कार्यान्वयन अनुगमनमा समेत उनले काम गरेका थिए।

बीमा तथा वित्तीय संस्थाको सञ्चालक तहमा अनुभव

बैंकिङ क्षेत्रबाहेक थापासँग बीमा तथा वित्तीय सुरक्षणसम्बन्धी संस्थाको सञ्चालक तहमा काम गरेको अनुभव पनि छ। उनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्य तथा लगानी समितिको संयोजकका रूपमा कार्यरत थिए। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य तथा लगानी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

वित्तीय क्षेत्रको जोखिम व्यवस्थापन, लगानी निर्णय, संस्थागत सुशासन र नीतिगत समन्वयमा प्राप्त यही अनुभवलाई बीमा क्षेत्रको नेतृत्वमा उपयोग गर्न सक्ने आधारका रूपमा हेरिएको छ।

अर्थशास्त्र, व्यवस्थापन र कानुनमा उच्च शिक्षा

थापाले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१३ मा व्यवस्थापन विषयमा एमफिल गरेका छन्। उनले सन् २०१२ मा पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर, सन् १९९८ मा शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर र सन् २०१७ मा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक (एलएलबी) गरेका छन्।

उनले भारतको सिङ्घानिया विश्वविद्यालयबाट बैंकिङ क्षेत्रमा संस्थागत सुशासनले जोखिम व्यवस्थापनमा पार्ने प्रभावसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। उक्त उपाधि हाल त्रिभुवन विश्वविद्यालयबाट समकक्षता मूल्यांकनको प्रक्रियामा रहेको उनको बायोडाटामा उल्लेख छ।

थापाले 'Principles and Practices of Nepalese Banking' र 'Principles of Management' लगायतका पुस्तक सहलेखन गरेका छन्। सन् २०१० मा 'Principles and Practices of Nepalese Banking' पुस्तकले सम्मान बैंकिङ अवार्ड प्राप्त गरेको थियो। उनले बैंकिङ तथा वित्तीय क्षेत्रका विभिन्न तालिममा स्रोत व्यक्तिका रूपमा काम गर्नुका साथै व्यवस्थापन शिक्षणमा १० वर्षभन्दा बढी अनुभव हासिल गरेका छन्।

अन्तर्राष्ट्रिय नियामकीय अभ्यासको अनुभव

थापाले बासेल नियमन, वित्तीय स्थायित्व, बैंक सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा केन्द्रीय बैंकिङसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तालिम र सेमिनारमा सहभागिता जनाएका छन्। सन् २००७ देखि बासेलसम्बन्धी कार्यक्रमहरूमा सहभागी हुँदै आएका उनले स्विट्जरल्यान्डको बासेलमा सन् २०१३ मा आयोजित बासेल–३ अनुगमन कार्यशालामा समेत सहभागिता जनाएका थिए।

त्यसैगरी सन् २०१८ मा बैंक अफ कोरियाको वित्तीय स्थायित्वसम्बन्धी कार्यक्रम तथा अमेरिकी फेडरल रिजर्भको एडभान्स्ड स्ट्रेस टेस्टिङ एन्ड क्यापिटल प्लानिङ कार्यक्रममा सहभागी भएका थिए। सन् २०२४ मा न्यूयोर्कमा आयोजित सेन्ट्रल बैंकिङ सेमिनार र सन् २०२५ मा नामिबियामा आयोजित एलायन्स फर फाइनान्सियल इन्क्लुजनको ग्लोबल पोलिसी फोरममा समेत उनले सहभागिता जनाएका थिए।

वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षणमा लामो अनुभव, बीमा कम्पनीको सञ्चालक तहमा काम गरेको पृष्ठभूमि र जोखिम व्यवस्थापनसम्बन्धी शैक्षिक अनुसन्धान भएका थापासामु अब नेपालको बीमा क्षेत्रको नियमन, संस्थागत सुशासन, वित्तीय पारदर्शिता र बीमाप्रतिको सार्वजनिक विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी रहनेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया