Siddartha Bank
Prabhu Mahalaxmi

विश्वका शीर्ष १ हजार बैंकको नाफा वृद्धिदर १२.५ प्रतिशत, शीर्ष स्थानमा चीनको आईसीबीसी

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 12 18:11
विश्वका शीर्ष १ हजार बैंकको नाफा वृद्धिदर १२.५ प्रतिशत, शीर्ष स्थानमा चीनको आईसीबीसी
United Ajod

काठमाडौं । विश्व बैंकिङ क्षेत्रको नाफा वृद्धिदर सन् २०२५ मा उल्लेख्य रूपमा सुधार भएको छ। विश्वका शीर्ष १ हजार बैंकको वार्षिक सूचीमा समावेश बैंकहरूको करपूर्व नाफा १२.५ प्रतिशतले बढेको छ। सन् २०२४ मा यस्तो वृद्धिदर ३.४ प्रतिशत मात्रै थियो।

Siddartha Bank
EBL
Nepal Life

अन्तर्राष्ट्रिय बैंकिङ पत्रिका द बैंकर ले सार्वजनिक गरेको ‘टप १००० वर्ल्ड बैंक २०२६’ को प्रतिवेदनअनुसार बैंकहरूको प्रथम श्रेणीको पुँजी (टियर वान क्यापिटल), कुल सम्पत्ति र करपूर्व नाफा गरी तीनवटै प्रमुख वित्तीय सूचकमा सन् २०२५ मा वृद्धि भएको छ। यसले चुनौतीपूर्ण सन् २०२४ पछि विश्व बैंकिङ क्षेत्रको वित्तीय अवस्थामा सुधार आएको संकेत गरेको छ।

प्रतिवेदनअनुसार विश्वका बैंकहरूको नाफा वृद्धिमा ब्याज आम्दानीको महत्वपूर्ण योगदान रहेको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलगायत विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने प्रक्रियामा केही समय विराम लगाउँदा बैंकहरूले खुद ब्याज आम्दानीलाई बलियो अवस्थामा कायम राख्न सकेका छन्। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव प्रारम्भिक अनुमानभन्दा कम देखिएकाले पनि बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको प्रतिवेदनले उल्लेख गरेको छ।

चीनका बैंकको दबदबा कायम

‘टप १००० वर्ल्ड बैंक २०२६’ को सूचीमा चीनको इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आईसीबीसी) पहिलो स्थानमा रहेको छ। सन् २०१३ देखि लगातार शीर्ष स्थानमा रहँदै आएको आईसीबीसीले विश्व बैंकिङ क्षेत्रमा आफ्नो वर्चस्व कायम राखेको हो।

शीर्ष १० बैंकको सूचीमा चिनियाँ बैंकहरूको संख्या पनि बढेको छ। गत वर्ष ६ वटा चिनियाँ बैंक शीर्ष १० मा समावेश भएकामा यस वर्ष उक्त संख्या बढेर ७ पुगेको छ। चाइना पोस्टल सेभिङ्स बैंकले अमेरिकी बैंक वेल्स फार्गोलाई पछि पार्दै शीर्ष १० मा स्थान बनाएको छ।

यद्यपि, चिनियाँ बैंकहरूको बढ्दो उपस्थितिलाई उनीहरूले सामना गरिरहेका वित्तीय चुनौतीबाट अलग गरेर हेर्न नमिल्ने प्रतिवेदनले औँल्याएको छ। चीन सरकारले पछिल्ला दुई वर्षमा बैंकिङ क्षेत्रलाई सहयोग गर्न विभिन्न हस्तक्षेपकारी कदम चालेको भए पनि अर्थतन्त्रमा देखिएको मूल्यह्रासको दबाब, अमेरिकासँगको व्यापार तनाव, कमजोर आन्तरिक उपभोग र घरजग्गा क्षेत्रको ऋण संकटले बैंकहरूको वित्तीय अवस्थामा दबाब सिर्जना गरिरहेको छ।

विशेषगरी नाफा आर्जनको तुलनामा चिनियाँ बैंकहरू अमेरिकी बैंकभन्दा पछाडि देखिएका छन्। सूचीमा समावेश १८१ अमेरिकी बैंकको सम्पत्तिमा प्रतिफल (आरओए) १.०४ प्रतिशत रहेको छ। विश्वका शीर्ष १ हजार बैंकको औसत यस्तो प्रतिफल ०.७९ प्रतिशत हुँदा १४३ चिनियाँ बैंकको ०.६३ प्रतिशत मात्रै रहेको छ।

नाफा वृद्धिमा पनि अमेरिकी बैंकहरू अगाडि देखिएका छन्। चीनका १० ठूला बैंकमध्ये एउटा बैंकले मात्रै करपूर्व नाफामा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। यसको विपरीत, अमेरिकाका १० ठूला बैंकमध्ये ६ वटाले दोहोरो अंकको नाफा वृद्धि गरेका छन्। अमेरिकी बैंकहरूले लगानी बैंकिङ तथा धितोपत्र कारोबारबाट प्राप्त आम्दानीका कारण पनि राम्रो प्रतिफल हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।

युरोपेली बैंकको नाफामा उल्लेख्य सुधार

सन् २०२५ मा युरोपेली बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। युरोपेली केन्द्रीय बैंकले वर्षको सुरुवाती अवधिमा ब्याजदर घटाए पनि बैंकहरूले संरचनात्मक हेजिङ रणनीति र कर्जा विस्तारमार्फत आम्दानी बढाउन सफल भएका छन्।

विशेषगरी जर्मनीका बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ। सन् २०२४ मा ४.५ प्रतिशतले घटेको जर्मन बैंकहरूको कुल करपूर्व नाफा सन् २०२५ मा ३९.२ प्रतिशतले बढेको छ।

जर्मनीको ड्युश बैंकले करिब दुई दशकयताकै सबैभन्दा उच्च वार्षिक नाफा आर्जन गर्दै यस वृद्धिमा महत्वपूर्ण योगदान दिएको छ। स्थिर आयसम्बन्धी वित्तीय कारोबार (फिक्स्ड इनकम) र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानी वृद्धिले बैंकको नाफा बढाउन सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

बेलायतका बैंकहरूको नाफा वृद्धिदर पनि सुधार भएको छ। सन् २०२४ मा २.८ प्रतिशत रहेको बेलायती बैंकहरूको कुल करपूर्व नाफा वृद्धिदर सन् २०२५ मा ९.९ प्रतिशत पुगेको छ। यद्यपि, युरोपकै सबैभन्दा ठूलो बैंक एचएसबीसीको नाफा घटेका कारण समग्र वृद्धिमा केही दबाब परेको प्रतिवेदनले देखाएको छ।

अमेरिकी बैंकको नाफा वृद्धिमा सुस्तता

गत वर्ष विश्व बैंकहरूको नाफा वृद्धिमा अग्रस्थानमा रहेका अमेरिकी बैंकहरूको वृद्धिदर भने यस वर्ष तुलनात्मक रूपमा सुस्त देखिएको छ। सन् २०२६ को सूचीमा अमेरिकी बैंकहरूको कुल करपूर्व नाफा वृद्धिदर ७.७ प्रतिशत रहेको छ। जेपी मोर्गनको नाफामा आएको सामान्य गिरावटले पनि समग्र वृद्धिदरलाई प्रभावित पारेको छ।

यद्यपि, अमेरिकी बैंकहरूको सम्पत्तिमा प्रतिफल र नाफा आर्जन क्षमता अन्य प्रमुख बैंकिङ बजारको तुलनामा बलियो देखिएको छ। लगानी बैंकिङ र कारोबारसम्बन्धी आम्दानीले अमेरिकी बैंकहरूको वित्तीय प्रदर्शनलाई थप सहयोग गरेको प्रतिवेदनले जनाएको छ।

बैंकिङ क्षेत्रको वित्तीय आधार बलियो, जोखिम कायमै

प्रतिवेदनले विश्व बैंकिङ क्षेत्र समग्रमा स्वस्थ अवस्थामा रहेको निष्कर्ष निकालेको छ। शीर्ष १ हजार बैंकको कुल सम्पत्तिको तुलनामा प्रथम श्रेणीको पुँजीको अनुपात सन् २०२५ को तुलनामा केही घटे पनि पछिल्लो १० वर्षकै उच्च स्तरनजिक रहेको छ। यसले बैंकहरूको पुँजीगत आधार तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ।

तर, विश्व बैंकिङ क्षेत्रका अगाडि नयाँ जोखिमहरू पनि देखिन थालेका छन्। विशेषगरी इरानसँग सम्बन्धित द्वन्द्व तथा अन्य भूराजनीतिक तनावले विश्व अर्थतन्त्र र वित्तीय प्रणालीमा थप अनिश्चितता सिर्जना गर्न सक्ने प्रतिवेदनले संकेत गरेको छ।

सन् २०२५ को वित्तीय नतिजाले विश्व बैंकिङ क्षेत्रले चुनौतीपूर्ण अवस्थाबाट पुनरुत्थानको संकेत दिएको भए पनि आगामी दिनमा भूराजनीतिक जोखिम, व्यापार तनाव, कर्जाको गुणस्तर र आर्थिक गतिविधिमा हुने परिवर्तनले बैंकहरूको वित्तीय प्रदर्शनलाई प्रभावित पार्न सक्ने देखिएको छ।

सन् १९२६ देखि विश्व बैंकिङ क्षेत्रका गतिविधि र वित्तीय तथ्याङ्कको विश्लेषण गर्दै आएको द बैंकर ले सार्वजनिक गरेको यो सूचीले विश्वका प्रमुख बैंकहरूको पुँजी, सम्पत्ति र नाफाको अवस्था तुलनात्मक रूपमा मूल्याङ्कन गर्ने आधार प्रदान गरेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार