फेसबुकमा एआई प्रयोग गरी अनलाइन बेटिङको प्रचार, कलाकारदेखि प्रहरीको पहिचानसमेत दुरुपयोग
- आयुस बस्नेत
- 2026 Nov 14 16:38
काठमाडौं, कात्तिक २८ गते । नेपालमा कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा तथा सट्टेबाजीको प्रचार सामाजिक सञ्जाल फेसबुकमार्फत फैलिने क्रम रोकिएको छैन । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी कलाकार, सार्वजनिक व्यक्तित्व, सञ्चारकर्मी तथा नेपाल प्रहरीको पहिचानसमेत दुरुपयोग गरेर बेटिङ एपको प्रचार भइरहेको पाइएको छ ।
अनलाइन बेटिङ एपको प्रचारका लागि तयार गरिएका यस्ता विज्ञापनमा सार्वजनिक व्यक्तित्वले सम्बन्धित एपको समर्थन गरेको जस्तो देखिने भिडियो, नेपाली भाषामा तयार पारिएका आवाज तथा भ्रामक दृश्यहरू प्रयोग गरिएको छ । कतिपय विज्ञापनमा सञ्चारमाध्यमका लोगो, नेपालको राष्ट्रिय प्रतीक र प्रहरीको पोसाकसमेत प्रयोग गरिएको पाइएको छ ।
नेपाल न्यूजचेकर्सले गरेको तथ्यजाँचअनुसार अनलाइन बेटिङ एपको प्रचारमा उद्योगपति विनोद चौधरीको भिडियो, सञ्चारमाध्यमका लोगो तथा नेपालको राष्ट्रिय प्रतीक दुरुपयोग गरिएको पाइएको छ । फरक सन्दर्भका वास्तविक भिडियोमा एआईबाट तयार पारिएको आवाज र भ्रामक विवरण जोडेर विज्ञापन बनाइएको तथ्यजाँचमा उल्लेख छ ।
त्यस्तै, डिजिटल राइट्स नेपालले सार्वजनिक गरेको विवरणमा नेपाल प्रहरीको लोगो र पोसाक प्रयोग गरी गैरकानुनी अनलाइन बेटिङ प्लेटफर्मलाई वैध देखाउने एआई निर्मित भिडियो फेसबुकमा फैलिएको उल्लेख छ ।
नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी कानुनविपरीत भए पनि यस्ता विज्ञापनमार्फत प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास भइरहेको छ । आकर्षक आम्दानी, बोनस तथा थोरै रकमबाट ठूलो रकम जित्न सकिने जस्ता दाबी गरेर सर्वसाधारणलाई बेटिङ एप प्रयोग गर्न प्रोत्साहित गरिएको देखिन्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा तथा सट्टेबाजीलाई निषेध गरेको छ । सट्टेबाजी गर्ने वा गराउने कसुरमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
सरकारले भने अनलाइन बेटिङ नियन्त्रणका लागि विभिन्न कदम चालेको छ । मन्त्रिपरिषद्को निर्णयपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई बेटिङसम्बन्धी एप तथा वेबसाइट बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी हजारौँ बेटिङ एप तथा वेबसाइटमा पहुँच रोक्ने काम अघि बढाएको छ ।
त्यस्तै, विज्ञापन बोर्डले पनि गैरकानुनी बेटिङ एप तथा वेबसाइटको विज्ञापन प्रकाशन र प्रसारण नगर्न आग्रह गर्दै त्यस्ता विज्ञापन गर्ने वा गराउनेमाथि प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।
सरकारले २०२६ मा जारी गरेको राष्ट्रिय विज्ञापन नीतिमा सामाजिक सञ्जालको विज्ञापन, प्रायोजित सामग्री तथा एआईबाट तयार गरिएका विज्ञापन र डीपफेक सामग्रीलाई समेत नियमनको दायरामा ल्याउने व्यवस्था गरेको छ ।
यद्यपि, सरकारी निर्देशन र नियन्त्रणका प्रयास हुँदाहुँदै पनि सामाजिक सञ्जालमा यस्ता विज्ञापन देखिनु कार्यान्वयन र अनुगमनको चुनौतीका रूपमा देखिएको छ । विशेषगरी सार्वजनिक व्यक्तित्वको अनुमति बिना उनीहरूको अनुहार, आवाज तथा पहिचान प्रयोग गरेर बनाइएका विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्ने र आर्थिक जोखिममा पार्न सक्ने देखिन्छ ।
डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा एआईबाट तयार गरिएका भ्रामक विज्ञापन पहिचान गर्ने, त्यस्ता सामग्री प्रसारण गर्ने पेज तथा विज्ञापनदातामाथि अनुसन्धान गर्ने र सामाजिक सञ्जालसँग प्रभावकारी समन्वय गर्ने विषय थप महत्त्वपूर्ण बनेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया