नेपालको पर्वसंस्कृतिलाई विश्वसामु चिनाउँदै युबेश धौभडेलको तस्बिरपुस्तक सार्वजनिक हुँदै
- BFIS News
- 2026 Nov 19 12:02
काठमाडौं । नेपालको मौलिक पर्वसंस्कृति, धार्मिक परम्परा र सामुदायिक जीवनलाई अन्तर्राष्ट्रिय पाठकमाझ चिनाउने उद्देश्यसहित दृश्य कथाकार तथा फोटोग्राफर युबेश धौभडेलले नयाँ तस्बिरपुस्तक Confluence of Festivals: Temple Town to the World — An Invitation to Nepa Dey सार्वजनिक गर्ने भएका छन्।
भक्तपुर, काठमाडौं र ललितपुरको सांस्कृतिक तथा आध्यात्मिक परिवेशलाई समेटिएको यस पुस्तकमा काठमाडौँ उपत्यकाका पर्व, जात्रा, धार्मिक अनुष्ठान, सांस्कृतिक प्रस्तुति र दैनिक जनजीवनका तस्बिर समावेश छन्। करिब एक दशकको अवलोकन र दृश्य कथावाचनका क्रममा खिचिएका तस्बिरमार्फत नेपालमण्डलको जीवन्त सांस्कृतिक सम्पदालाई अभिलेखीकरण गरिएको लेखकले बताएका छन्।
‘नेपा देय्’ भनेर चिनिने भक्तपुर, काठमाडौं र ललितपुरको सांस्कृतिक संसारलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले पुस्तक तयार पारिएको हो। यसमा पर्व र जात्राका दृश्यसँगै ती परम्परालाई निरन्तरता दिँदै आएका भक्तजन, कलाकार, सङ्गीतकर्मी, स्वयंसेवक, परिवार र समुदायको सहभागितालाई समेत प्राथमिकता दिइएको छ।
पुस्तकले चाडपर्वलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा मात्र सीमित नगरी सामूहिक स्मृति, पहिचान र पुस्तान्तरणको माध्यमका रूपमा प्रस्तुत गरेको छ। सहरका गल्ली, चोक र परम्परागत आँगनमा आयोजना हुने उत्सवले विभिन्न पुस्तालाई कसरी एउटै सांस्कृतिक सूत्रमा जोड्छन् भन्ने विषयलाई तस्बिरमार्फत देखाइएको छ।
धौभडेलका अनुसार यो पुस्तक नेपाललाई केवल पर्यटकीय गन्तव्यका रूपमा नभई संस्कृति, आध्यात्मिकता र मानवीय सम्बन्धले जीवन्त बनेको साझा संसारका रूपमा चिनाउने प्रयास हो। तिहारपछि पुस्तक सार्वजनिक गर्नु पनि उत्सव, एकता, पारिवारिक सम्बन्ध र सामूहिक अपनत्वको भावसँग जोडिएको उनले बताएका छन्।
भक्तपुरमा जन्मिएका धौभडेलले फोटोग्राफी, सांस्कृतिक अध्ययन र दृश्य कथावाचनलाई आफ्नो सिर्जनात्मक अभ्यासमा समेट्दै आएका छन्। नेपाल, बेलायत र संयुक्त राज्य अमेरिकामा हासिल गरेको शैक्षिक तथा व्यावसायिक अनुभवले उनको सिर्जनात्मक दृष्टिकोण निर्माणमा योगदान पुर्याएको छ। उनका तस्बिरले सांस्कृतिक पहिचान, सम्पदा, समावेशिता र मानिसलाई एकअर्कासँग जोड्ने साझा मानवीय स्वभावका विषयलाई अन्वेषण गर्छन्।
यसअघि धौभडेलले यही नामको फोटोग्राफी प्रदर्शनी परियोजनामार्फत नेपालको पर्वसंस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरिसकेका छन्। अमेरिकाको कोलोराडोस्थित अरोरा हिस्ट्री म्युजियममा सन् २०२५ फेब्रुअरी १८ देखि जुन १५ सम्म आयोजित प्रदर्शनीमा नेपालका सांस्कृतिक परम्परा र पर्वका तस्बिर प्रस्तुत गरिएको थियो। उनका तस्बिरहरू Sony Alpha Universe मा समेत प्रकाशित भएका छन्।
नयाँ पुस्तकमार्फत आफ्नो दृश्य कथावाचनलाई अझ व्यापक पाठकवर्गसम्म पुर्याउने धौभडेलको लक्ष्य छ। यसले विश्वभरका पाठक, सांस्कृतिक संस्था, शिक्षाविद्, प्रवासी नेपाली समुदाय, पुस्तकालय, सङ्ग्रहालय तथा फोटोग्राफीप्रेमीहरूसँग नेपालको सांस्कृतिक सम्पदाबारे संवाद विस्तार गर्ने अपेक्षा गरिएको छ।
तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणको महत्त्वलाई समेत पुस्तकले जोड दिएको छ। तस्बिरको माध्यमबाट परम्परागत अभ्यास, सामुदायिक जीवन र सांस्कृतिक सीपको अभिलेखीकरण गर्दै सांस्कृतिक पर्यटनसम्बन्धी सचेतना तथा अन्तर्राष्ट्रिय सांस्कृतिक संवादमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
धौभडेलका अनुसार पुस्तकमा समेटिएका प्रत्येक तस्बिरले कुनै स्थान, त्यहाँका मानिस र उनीहरूको सहभागिताको कथा बोकेको छ। नेपाली, प्रवासी नेपाली, पर्यटक, विद्यार्थी तथा अन्य पाठकले यी तस्बिरमार्फत नेपालको परम्परालाई नजिकबाट बुझ्ने र अनुभव गर्ने अवसर पाउने उनको अपेक्षा छ।
मंसिर ४ गते पुस्तक लोकार्पण
पुस्तकको औपचारिक लोकार्पण मंसिर ४ गते शुक्रबार (नोभेम्बर २०, २०२६) काठमाडौंको ठमेलस्थित केजीएच ठमेलमा आयोजना हुनेछ। म्युजियम अफ नेपाली आर्टस् (मोना) को सहकार्य तथा केजीएच ठमेलको स्थल साझेदारीमा हुने कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
लोकार्पण कार्यक्रममा पुस्तक विमोचन, तस्बिर प्रदर्शनी, सहजकर्ताद्वारा सञ्चालित विशेष संवाद तथा सहभागीबीच विचार आदानप्रदान गरिनेछ। साथै, पुस्तक बिक्री र लेखकको हस्ताक्षरसहितका प्रति उपलब्ध गराइनेछ।
यसैगरी, मंसिर ५ देखि १४ गतेसम्म (नोभेम्बर २१ देखि ३०, २०२६) तस्बिर प्रदर्शनी सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिनेछ। कार्यक्रम केजीएच ठमेल, सातघुम्ती, चाक्सीबारी, काठमाडौंमा आयोजना हुनेछ।
पुस्तक लोकार्पनसँगै मोना र काठमाडौं आर्ट हाउसबाट खरिद गर्न सकिनेछ। यसका साथै अनलाइन पुस्तक बिक्री प्लेटफर्म ब्लर्ब (Blurb) मार्फत पनि Confluence of Festivals: Temple Town to the World, A Photobook from Nepal — An Invitation to Nepa Dey शीर्षकमा उपलब्ध हुनेछ।
लोकार्पण कार्यक्रम, लेखकसँगको अन्तरक्रिया, प्रदर्शनी तथा हस्ताक्षर कार्यक्रमसम्बन्धी थप जानकारी लेखकको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया