NIMB Header 2
Nepal Life

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आज होली मनाइँदै, सुरक्षा व्यवस्था कडा

National Life
  • BFIS News
  • 2024 Mar 24 08:25
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आज होली मनाइँदै, सुरक्षा व्यवस्था कडा
Sanima Reliance

काठमाडौं। सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।

Shikhar
NIMB

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।  

यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ। बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्। रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

फागु पर्वका उपलक्ष्यमा आज पहाडी र भोलि तराई क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ।

फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ। यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन पाइने छैन। यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी पनि उनले दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया