NIMB Header 2
Nepal Life

ग्राहकको कमजोरीले धेरै साइबर ठगी हुने गरेको देखिन्छ : गभर्नर

National Life
  • BFIS News
  • 2024 Jun 04 19:14
ग्राहकको कमजोरीले धेरै साइबर ठगी हुने गरेको देखिन्छ : गभर्नर
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरैजसो साइबर ठगी ग्राहकको कमजोरीले हुने गरेको बताएका छन् ।सोमबार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई प्राप्ति गरी सुरु गरेको एकीकृत कारोबार उद्घाटन गर्दै उनले डिजिटल फाइनान्सियल सर्भिस विकास क्रमसँगै जोखिम बढेर गएको बताए ।

Shikhar
NIMB

डिजिटल फाइनान्सियल सर्भिसका जोखिम केलाउँदा सेवा प्रदायक संस्थाका कमजोरीभन्दा पनि ग्राहकको कमजोरीका कारण बढी ठगीका घटना हुने गरेको देखिएको उनले बताए ।

संस्थागत रूपमा भएका कमी कमजोरी राष्ट्र बैंकले जारी गरेको नीति निर्देशनका कारण र उक्त निर्देशन कार्यान्वयन नहुँदा हुने कारबाहीले गर्दा सुधार गर्न सकिने उनको भनाइ छ ।

ग्राहकबाट हुने कमी कमजोरीबाट हुने ठगी नियन्त्रण गर्नु चुनौतीपूर्ण भएको उनले बताए । ‘डिजिटल फाइनान्सियल सर्भिसको चुनौती साक्षरताको कमी हो । त्यसकारण साक्षरता बढाउने जरुरी छ,’ उनले भने, ‘त्यसका लागि सबै बैंक तथा वित्तीय संस्था फिनटेक कम्पनी र राष्ट्र बैंक समेत समावेश हुने गरी डिजिटल लिटरेसी फ्रेमवर्क तयार भइसकेको छ । डिजिटल वित्तीय साक्षरता बढाउन जरुरी छ ।’

नेपालको फिनटेक पूर्वाधार कमजोर छैन

गभर्नर अधिकारीले नेपालको फिनटेक पूर्वाधार कमजोर नरहेको बताए । धेरै अन्तर्राष्ट्रिय फिनटेक फेस्टिभलमा सहभागी हुँदा नेपालको फिनटेक प्रडक्ट अन्तर्राष्ट्रिय रूपमा कमजोर नरहेको पाएको उनले बताए ।

‘हाम्रो फिनटेक पूर्वाधारमा स्रोत, साधन र जनशक्ति कुनैमा कमी छैन,’ उनले भने, ‘अहिले क्रसबोर्डर भुक्तानीको काम गर्दै गर्दा फिनटेक प्रडक्ट हाम्रो लेभलमा ल्याउन अरूलाई मिहिनेत गर्नुपर्ने अवस्था छ ।’

यो पूर्वाधार बनाउन राष्ट्र बैंकको भूमिका वातावरण बनाइदिने मात्रै भएको र यसमा फिनटेक क्षेत्रमा काम गर्नेको नै योगदान रहेको उनले बताए ।

दिगो हुन भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीको मर्जर आवश्यक रहेको उनले बताए । एनसीएचएल र नेप्सको मर्जरका लागि नभई सिनर्जीका लागि भएको उनको दाबी छ ।

‘राष्ट्र बैंकले मर्जरको नीति त्यत्तिकै ल्याएको होइन । पेमेन्ट सिस्टमभित्र १० वटा भुक्तानी प्रणाली सञ्चालक र २७ वटा भुक्तानी सेवा प्रदायक छन् । यति धेरै संस्था हुँदा सस्टेन हुन कति गाह्रो भइरहेको छ, त्यो हेरिरहेका छौं,’ उनले भने, ‘सीमित संख्याका संस्था मात्रै सस्टेन गर्ने अवस्थामा छन् । सस्टेन र स्वस्थ प्रतिस्पर्धाका लागि पनि एकीकरण आवश्यक छ ।’

उनले फिनटेक पूर्वाधारमा अनावश्यक राष्ट्रिय स्रोत साधन खर्च हुनबाट जोगाउन पनि इन्ट्रिग्रेसन आवश्यक रहेको बताए । त्यसलाई हेरेर नै राष्ट्र बैंकले भुक्तानीको कार्य गर्ने संस्थाबीच एकीकरणको नीति लिएको बताए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया