Nepal Life

वैदेशिक रोजगारको आइपिओ ४ दिन मात्रै बिक्री खुला हुने, आइपिओ निष्काशन अवधि छोटियो

NMB Bank
  • BFIS News
  • 2025 Jul 07 21:25
वैदेशिक रोजगारको आइपिओ ४ दिन मात्रै बिक्री खुला हुने, आइपिओ निष्काशन अवधि छोटियो
National Life

काठमाडौं, असार २३ गते। नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२’ आजबाट लागू गर्ने निर्णय गरेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ को अधिकार प्रयोग गरी बोर्डले यो निर्देशिका जारी गरेको हो।

Shikhar
NIMB

संशोधित निर्देशिकाले विदेशमा रोजगारमा रहेका नेपाली, बैंक तथा वित्तीय संस्थाहरु, तथा संस्थागत लगानीकर्तालाई सम्बोधन गर्दै धितोपत्र निष्काशन र बाँडफाँड प्रक्रियामा महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ।

विदेशमा रहेका नेपालीहरूका लागि दरखास्त अवधि परिमार्जन

निर्देशिकाले विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरमा दरखास्त दिन सकिने अवधि विद्यमान १५ दिनबाट संशोधन गर्दै कम्तीमा ४ कार्य दिन अनिवार्य गरिएको छ। यदि उक्त अवधि भित्र सबै शेयर बिक्री नभएमा, दरखास्त खुल्ला भएको मितिले अधिकतम १५ दिनसम्म दरखास्त अवधि कायम रहने व्यवस्था गरिएको छ।

अविमोच्य असंचिति अग्राधिकार शेयरको निष्काशनको नयाँ व्यवस्था

नवौं संशोधन निर्देशिकाको विशेष आकर्षण भनेको बैंक तथा वित्तीय संस्थाले अविमोच्य असंचिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्न पाउने व्यवस्था हो।

यसअन्तर्गत, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो शेयर निष्काशन गर्न सक्नेछन्। यस्तो शेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी वा सामूहिक लगानी कोषले लगानी गर्न नपाउनेछ। शेयरको अंकित मूल्य रू. १०० कायम गरिएको छ।

केवल ५० भन्दा कम संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्काशन गर्न सकिनेछ। साथै, संस्थागत लगानीकर्ताले जोखिम उद्घोषण विवरण अध्ययन गरी त्यसको बुझेको भनी लिखित सहमति संलग्न गर्नु अनिवार्य गरिएको छ।

शेयरको अभौतिकीकरण र कारोबार

निर्देशिकाले अविमोच्य असंचिति अग्राधिकार शेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप प्रणालीमार्फत गरिने र कारोबार प्रक्रिया धितोपत्र बजारको नियमनअनुसार हुने उल्लेख गरिएको छ। साथै, सर्वसाधारण लगानीकर्ताले यस्तो शेयर खरिद-बिक्री गर्न नपाउने प्रष्ट व्यवस्था गरिएको छ।

विवरणपत्रमा जोखिम उद्घोषणको स्पष्ट उल्लेख

शेयर निष्काशनका लागि तयार गरिने विवरणपत्रमा सम्बन्धित जोखिम विवरण स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ। लाभांश भुक्तानी तथा जोखिम व्यवस्थापनसम्बन्धी धारणा पनि उल्लेख गर्नुपर्ने प्रावधान छ।

बाँडफाँड प्रक्रिया थप पारदर्शी

संशोधित निर्देशिकाले बाँडफाँड तालिका धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा दुई कार्य दिन अघिसम्म बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

साथै, एकपटक सार्वजनिक निष्काशन घोषणा गरिएको धितोपत्र कुनै वर्गविशेषलाई प्राथमिकतामा बाँडफाँड गर्न नपाइने व्यवस्था गरिएको छ। तर, कर्मचारी, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको शेयरको बाँडफाँड सम्बन्धित संस्था तथा निष्काशन तथा बिक्री प्रबन्धकले तयार गरी बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान छ।

नेपाल धितोपत्र बोर्डको यो कदमले नेपाली पुँजीबजारमा थप पारदर्शिता, समावेशीता र संस्थागत लगानीलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया