बीमा प्राधिकरणले सुरु गर्यो वार्षिक बीमा नीति सार्वजनिक गर्ने परम्परा, बीमा क्षेत्रमा संरचनागत सुधारको अपेक्षा
- BFIS News
- 2025 Jul Tue 18:05

काठमाडौं, असार २४ — बीमा क्षेत्रको दीर्घकालीन विकासका लागि बीमा प्राधिकरणले पहिलोपटक वार्षिक बीमा नीति सार्वजनिक गर्ने परम्पराको सुरुवात गरेको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई अझ परिस्कृत, पारदर्शी र प्रभावकारी बनाउन आगामी वर्षदेखि कार्यान्वयनमुखी बीमा नीति ल्याइने स्पष्ट पारेका छन्। बीमा नीतिको सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले चालु आर्थिक वर्षलाई ‘आधार वर्ष’को रूपमा लिइएको र सोही आधारमा आगामी वर्षहरूमा नीतिगत तथा कार्यगत सुधार सूचकहरू निर्माण गरिने बताए। उनले भने, "यसलाई आधार मानेर आगामी वर्षदेखि बीमा क्षेत्रमा नीति कार्यान्वयनको अवस्था समेत सार्वजनिक गर्दै जाने छौँ।" बीमा नीति एक महिनाभित्र तयार पारिएको भन्दै उनले छोटो समयमा सबैको सहकार्यमा यो सफल भएको बताए।
बीमा नीतिको उद्देश्य प्राधिकरणको कार्यहरू अनुमान योग्य बनाउनु रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा कम्पनीहरूले पनि आफ्नो वार्षिक योजनाहरू तयार गर्दा नीति अनुरूप समावेश गर्न निर्देशन दिए। “बीमा उद्योगमा सुधार ल्याउन बीमा कम्पनीहरूले यी नीतिहरूलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ,” उनले भने।
कार्यक्रमका क्रममा कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी उठेको प्रश्नमा जवाफ दिँदै उनले सो विषय सरकारसँग सम्बन्धित रहेको र प्राधिकरण हाल तत्काल त्यसबारे केही भन्न नसक्ने स्पष्ट पारे।
बीमा क्षेत्रको विश्वसनीयता बढाउन दाबी प्रणालीलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिँदै ओझाले कुनै पनि प्रकारका द्विविधा हटाएर बीमकहरूलाई सहज जानकारी दिने प्रणालीको विकास गरिएको बताए।
“बीमकको वित्तीय स्वास्थ्य बलियो हुनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो,” अध्यक्ष ओझाले भने, “पारदर्शिता मजबुत बनाउनु हाम्रो उद्देश्य हो। यही सन्दर्भमा साउनदेखि हरेक महाशाखा र शाखाले जिम्मेवारीपूर्वक काम गर्नेछ भन्ने विश्वास म दिलाउन चाहन्छु।”
बजारको प्रतिक्रिया, सुझाव र सरोकारवालाहरूको रायलाई पनि समेटेर नीतिहरू परिमार्जन गर्दै लैजाने उल्लेख गर्दै उनले बीमा क्षेत्रको दायरा विस्तार गर्दै विश्वसनीयता अभिवृद्धिका लागि संस्थागत सुधारमा बीमा प्राधिकरण प्रतिबद्ध रहेको स्पष्ट पारे।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशिलदेव सुवेदीले उक्त कार्यक्रमलाई संबोधन गर्दै यस कदमले बीमा क्षेत्रलाई मात्र नभई समग्र वित्तीय प्रणालीलाई समेत गहिरो प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
सुवेदीका अनुसार अबदेखि प्रत्येक वर्ष असारको अन्तिममा बीमा प्राधिकरणले वार्षिक बीमा नीति सार्वजनिक गर्नेछ। “हामी अघिल्ला वर्षहरूमा हाम्रा काम प्रेडिक्टेवल थिएनन्।” उनले भने, “यसले बीमा प्राधिकरण के गर्छ, कस्तो नीति ल्याउँछ भन्ने स्पष्टता थिएन। अब भने नीति निर्माणमार्फत योजना अनुसार काम गर्ने संस्कृतिको सुरुवात गरेका छौं।”
उनका अनुसार यो बीमा सातवटा नीतिगत दायरामा आधारित छ र यसले वर्षभरिका सम्पूर्ण कार्यक्रम र बजेट निर्धारणमा मार्गदर्शन गर्नेछ। “यो एक व्यवस्थित संरचना ल्याउने प्रयासको सुरुवात हो,” उनले थपे।
नीति निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूको महत्वपूर्ण सहयोग रहेको भन्दै सुवेदीले अनुसन्धान महाशाखा, व्यवस्थापन महाशाखालगायतका विभागहरूको निरन्तर मिहिनेतलाई धन्यवाद दिए। “हरेक वर्ष हामी यो प्रक्रियालाई अझ स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने छौं,” उनले बताए।
उनले विगतमा निर्देशिका तथा मार्गनिर्देशनहरू अचानक परिवर्तन गर्नुपर्ने अवस्था आउँदा गलत बुझाइ पैदा भएको बताउँदै भने, “अब नीति सार्वजनिक गरेर हामीले कुन बेला के गर्छौं भनेर पहिले नै जानकारी दिने प्रणालीलाई संस्थागत बनाउँदैछौं।”
“नीति अमूर्त जस्तो लाग्न सक्छ, तर हामीले यसलाई स्पष्ट, व्याख्या गर्न सकिने र कार्यनीतिसहितको दस्तावेज बनाएका छौं,” सुवेदीले भने, “अब बीमा प्राधिकरण कुन दिशातर्फ गइरहेको छ भन्ने कुरा नीतिमार्फत देख्न सकिनेछ।”
उनले अन्त्यमा भने, “यो नीति कार्यान्वयनमा आउँदा बीमा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ।” बीमा प्राधिकरणको यो नयाँ अभ्यासले नीति निर्माणमा पारदर्शिता, नियमितता र दीर्घकालीन सोचलाई संस्थागत बनाउने आशा गरिएको छ।
प्रतिक्रिया