United Ajod

नेपालमा स्याहार अर्थतन्त्रलाई मूलधारमा ल्याउन जरुरी छ : उपाध्यक्ष अधिकारी  

Everest Bank
  • BFIS News
  • 2025 Sep Thu 14:24
नेपालमा स्याहार अर्थतन्त्रलाई मूलधारमा ल्याउन जरुरी छ : उपाध्यक्ष अधिकारी  

काठमाडौँ, १९ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले केयर अर्थतन्त्रलाई मूलधारमा ल्याउन आवश्यक भएको बताए।

Lआज काठमाडौँमा आयोजित एशिया–प्रशान्त केयर लर्निङ सप्ताह २०२५ कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले “बिना भुक्तानी स्याहार कार्य र न्यून मूल्याङ्कन गरिएका स्याहार रोजगारहरू समाजको अदृश्य आधार भएको बताए ।

उनले मूलधारको आर्थिक मापनले यसलाई समेट्न नसकेको र केयरलाई बेवास्ता गर्दा यसको लागत असमानता, नाजुकता, र उत्पादकत्व घट्ने र विकासका अवसर गुम्ने समेत बताए। उपाध्यक्ष अधिकारीले नेपालको १६ औँ योजनामा केयर कार्यलाई औपचारिक, रोजगारी सिर्जना गर्ने र महिलाको आर्थिक सशक्तीकरणमा जोड दिने,  गौरवपूर्ण श्रम प्रवर्द्धन कार्यक्रम मार्फत केयर कार्यलाई मर्यादित रोजगारीमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताए ।

उनले महिलाहरूले बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहको सबैभन्दा ठुलो भार उठाइरहेको र यसले उनीहरूको शिक्षा र रोजगारीमा सहभागिता सीमित बनाएको समेत बताए।

साथै, उनले छिटै राष्ट्रिय केयर नीति ल्याउने तयारी भइरहेको भन्दै जसले केयरलाई बृहत् अर्थतन्त्रमा समेट्ने समेत विश्वास व्यक्त गरे ।

नेपालले वि.सं २००७ देखिनै लैङ्गिक  उत्तरदायी बजेटिङ अभ्यास गर्दै आएको उल्लेख गर्दै उहाँले स्थानीय तहमा लैङ्गिक दृष्टिकोणसहितको वित्तीय व्यवस्थापन र स्रोत विनियोजन अपरिहार्य भएको समेत औँल्याए।

उनले, “केयरमा लगानी गर्नु केवल सामाजिक वा नैतिक मात्र नभई—यो स्मार्ट अर्थतन्त्र भएको यसले रोजगारी र उत्पादकत्व उच्च बनाउने, र यसबाट समावेशी आर्थिक वृद्धि सम्भव हुने समेत जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले  निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारलाई केयर पूर्वाधार र श्रम शक्ति विकासमा लगानी गर्न आह्वान गर्दै यसको निम्ति क्षेत्रीय सहकार्य समेत आवश्यक भएको बताए। 

नेपाल विकासिल राष्ट्रमा स्तरोन्नति हुने पुर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुनु आफैमा महत्त्वपूर्ण रहेको भन्दै उनले नेपालको रूपान्तरण केवल आय र वृद्धिमा सीमित नभई सहनशीलता, समावेशीकरण, र साझा समृद्धिको आधार भएको बताए।

उपाध्यक्ष अधिकारीले हाम्रो जनसङ्ख्याको आधा महिला भए पनि, संरचनात्मक अवरोधहरूले अझै उनीहरूको औपचारिक अर्थतन्त्रमा पूर्ण सहभागितालाई अवरोध गरेको भन्दै  दिगो र अपरिवर्तनीय एलडीसी  स्नातकका लागि महिलाको आर्थिक सशक्तीकरण अत्यावश्यक भएको र  यसका लागि बिना भुक्तानीको केयर कार्यलाई मूल्याङ्कन र मान्यता दिनै पर्नेमा जोड दिए। 

उपाध्यक्ष अधिकारीले नेपालले राष्ट्रिय केयर नीति अघि बढाइरहेको भन्दै जसले केयरलाई व्यापक म्याक्रो–आर्थिक योजनामा समेट्ने समेत बताए । 

यसमा केयर पूर्वाधारमा लगानी, सार्वजनिक सेवाको विस्तार, र निजी क्षेत्रलाई केयर प्रदायकमा प्रोत्साहन गर्ने व्यवस्था गर्नु पर्नेमा समेत जोड दिए ।

उनले  यी कदमहरू केवल सामाजिक दृष्टिले प्रगतिशील नभई आर्थिक रूपमा पनि ठोस भएको, जसले महिलाको रोजगारी, श्रम बजार सहभागिता, उत्पादकत्व र समावेशी वृद्धिमा प्रभाव पार्ने समेत बताए। 

उनले दिगो वित्तीय सुनिश्चितताको लागि, सार्वजनिक वित्त व्यवस्थापनमा लैङ्गिक दृष्टिकोण समाहित गर्नु पर्ने भन्दै स्थानीय सरकारलाई केयर सेवाका लागि प्राथमिकता निर्धारण र स्रोत विनियोजन गर्न आवश्यक क्षमता हुनुपर्नेमा जोड दिए ।

उनले स्थानीय स्तरको केयरमा लगानीलाई कल्याण खर्चको रूपमा नभई रणनीतिक आर्थिक लगानीको रूपमा हेर्नुपर्ने र यसका लागि विकास साझेदारहरूसँग घनिष्ठ समन्वय आवश्यक रहेको समेत बताए । 

उपाध्यक्ष अधिकारीले केवल सरकारहरूले मात्र केयर अर्थतन्त्र बनाउन नसक्ने बताउदै यसका लागि बहुपक्षीय संलग्नता पनि अपरिहार्य भएको बताए । 

उनले  निजी क्षेत्र, नागरिक समाज, र विकास साझेदारहरूलाई केयर पूर्वाधार, नवप्रवर्तन, र श्रम शक्ति विकासमा लगानी गर्न आह्वान गरे । 

उनले  सार्वजनिक–निजी साझेदारीमार्फत समावेशी र वित्तीय रूपमा दिगो केयर प्रवाहका नयाँ मोडेलहरू विकसित गर्न सकिने समेत जानकारी दिए । 

केयर अर्थतन्त्र एसिया–प्रशान्तकै साझा चुनौती र अवसर भएको हुँदा यस्ता  मञ्चहरूले दक्षिण–सहकार्यलाई प्रवर्द्धन गर्ने र यसकालागि क्षेत्रीय ऐक्यबद्धता महत्त्वपूर्ण हुने जसबाट आर्थिक रूपमा दिगो तथा सामाजिक रूपमा न्यायपूर्ण केयर प्रणाली निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

उनले यस्ता खालका फोरमलाई उपयोग गरी केयर प्रणालीलाई लैङ्गिक समानता, समावेशी आर्थिक वृद्धि, र सामाजिक न्यायका इन्जिनमा रूपान्तरण गर्ने प्रतिबद्धता गर्न समेत आह्वान गरे ।

उनले केयरलाई पहिचान, मूल्याङ्कन, र आर्थिक रूपमा समर्थन गरेर —सबैको हितका लागि प्रयोग गर्न सकिने समेत बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया