United Ajod

मोबाईल रुपी मिसाइल र अफवाहको आक्रमण : नेपाली समाजमा सूचना युद्धको त्रासदी!

Everest Bank
  • अनन्तमान श्रेष्ठ
  • 2025 Sep Tue 06:08
मोबाईल रुपी मिसाइल र अफवाहको आक्रमण : नेपाली समाजमा सूचना युद्धको त्रासदी!

काठमाडौं। आजको युगमा सूचना नै शक्तिको मूल स्रोत हो। यही सूचनाले राष्ट्र निर्माण गर्छ भने, यही सूचनाले राष्ट्र ध्वस्त पार्न सक्छ। नेपाल जस्तो सामाजिक भावनामा छिटो प्रभावित हुने समाजमा सूचना प्रवाहको प्रभाव झनै गहिरो र तीव्र छ।

पछिल्ला घटनाक्रमहरूले प्रमाणित गरिदिएका छन्—हामी सबैको हात हातमा भएको मोबाईल अहिले हतियार बन्न पुगेको छ, जसले मिसाइलझैँ विस्फोट गरिरहेको छ। यो अब साधारण यन्त्र रहेन, यो अब सूचनात्मक युद्धको मिसाइल हो।

भयावह सूचना: हतियारभन्दा घातक

सामाजिक सञ्जाल—विशेषतः फेसबुक, टिकटक, युट्युबजस्ता माध्यमहरू—वास्तविक समाचारभन्दा बढी अफवाह, अर्धसत्य र भय फैलाउने माध्यम बन्न पुगेका छन्। यस्ता माध्यमबाट दैनिक रूपमा सेयर भइरहेका हिंसात्मक दृश्य, जलेका घर, लुटपाट, मान्छे पिटिएका भिडियोहरूले आम नागरिकलाई मानसिक आघात पुर्‍याइरहेका छन्। मानिसहरू 'ट्रामा' मा छन्। पछिल्ला केही दिनदेखि निदाउन नसकेका बच्चाहरू त्रसित भएका छन्, वृद्धवृद्धा आतङ्कमा बाँचिरहेका छन्।

यसरी मानसिक रूपमा क्षतिग्रस्त बनाउने सूचनालाई सेयर गर्नु भनेको सामाजिक आतंक फैलाउनु हो। यो कुनै पनि प्रकारको बम आक्रमणभन्दा कम छैन।

फेक न्युज र अफवाह: समाज विघटनको कारक

आज हाम्रो फेसबुकको न्यूज फिडमा जुनसुकै भिडियो देखिन्छ—कहिले विदेशी मुलुकका पुराना दृश्यहरू, कहिले सम्पादन गरिएको फेक भिडियो क्लिपहरू। ती भिडियोले न त सन्दर्भ देखाउँछन्, न त सत्यता। तर मानिसहरू त्यस्ता सामग्री सोचविचारै नगरी सेयर गर्छन्। एक सेयरले अर्को सय मान्छेमा त्रास फैलाउँछ। बच्चाले देख्छ, डराउँछ। युवाले देख्छ, उत्तेजित हुन्छ। यस्तो अफवाहयुक्त सामग्रीले देशको सामाजिक संरचनामा ठूलो आघात पुर्‍याइरहेको छ।

सूचना: राष्ट्रिय सुरक्षाविरुद्धको प्रयोग

आज नेपालमा देखिएको उथलपुथल मात्र आन्तरिक कारणले हैन, बाह्य शक्तिहरूले पनि नेपालीको भावनालाई खेलाउने प्रयास गरिरहेका छन्। फेक पेज खोल्ने, पेड स्पोन्सरशिपमार्फत नकारात्मक सामग्री फैलाउने जस्ता क्रियाकलापले सूचना युद्धको घुसपैठ भएको स्पष्ट देखिन्छ। यो कुनै सैन्य आक्रमण हैन, तर भावनात्मक र मनोवैज्ञानिक आक्रमण हो।

युवाहरूको आवेग, आवेश र सामाजिक न्यायप्रतिको चाहनालाई गलत दिशा दिइयो। जनतालाई सशस्त्र क्रान्तिजस्तै सोच दिँदै समाजलाई विभाजित पार्ने खेल खेलियो। त्यसमा सबैभन्दा शक्तिशाली हतियार बन्यो—हामीकै हातमा रहेको मोबाईल।

हामी आफैं जिम्मेवार छौं

हामीले आफ्ना बालबच्चाको अगाडि सेयर गरेका भिडियोलाई गौरवको विषय बनायौँ, जसले उनीहरूको सोच नै बिगारिदियो। हामीले विचारै नगरी अफवाह सेयर गर्यौं। हामीले सत्यता जाँच्न जरुरी ठानेनौं। परिणामस्वरूप नेपाल जल्यो, सरकारी कागजातहरू नष्ट भए, जनताको मनमा विष घुलियो, राष्ट्रको महत्वपूर्ण संरचना ध्वस्त भयो, जसले राष्ट्रलाई कमजोर बनायो।

यो हाम्रो लापरवाहीको नतिजा हो। अब पनि सचेत नभए यसको शिकार साना नानीदेखि वृद्धसम्म हुने पक्का छ।

अब के गर्ने?

सोचेर सेयर गरौं: कुनै पनि सूचना प्राप्त गरेपछि fact-check गर्नुपर्छ। "भयावह" देखिने भिडियो विशेष जाँच बिना सेयर नगर्नुहोस्।

अफवाह फैलाउनेलाई प्रतिवाद गरौं: नकारात्मकता फैलाउने पेज, व्यक्ति वा समूहलाई फेसबुक वा सम्बन्धित माध्यममा रिपोर्ट गर्नुहोस्।

बच्चाहरूको मनोविज्ञान बुझौं: बालबालिकाले के देख्छन्, त्यसले उनीहरूको मानसिकता निर्माण गर्छ। हिंसात्मक दृश्य सम्पादन नगरी देखाउने कार्य नगर्नुहोस्।

सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गरौं: सूचनालाई हतियार होइन, सहकार्य र समाधानको साधन बनाऔं।

आफ्नो मनोस्थिति ख्याल गरौं: लगातार नकारात्मक कन्टेन्ट हेर्दा ट्रामा हुन सक्छ। मनलाई स्वस्थ राख्न समय दिनुपर्छ।

के सूचना परमाणु हतियारभन्दा शक्तिशाली बन्न सक्छ?

विश्व अहिले सूचना प्रविधिमा लगानी गर्दैछ, कृत्रिम बौद्धिकता (AI) मा लगानी गर्दैछ। तर, हामी यसै प्रविधिको दुरुपयोग गर्दैछौं। यस्तो अवस्था निरन्तर रह्यो भने, हामी आफैंले आफ्नै भविष्यलाई आगोमा हाल्नेछौं।

अब समय आएको छ, मिसाइलजस्तो मोबाईलको प्रयोग संयमताका साथ गर्ने। नत्र, यसको आक्रमणबाट कोही पनि जोगिने छैन।

(लेखक अनन्तमान श्रेष्ठ मुक्तिनाथ विकास बैंकमा कार्यरत छन्।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया