Nepal Life

जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि, भदौ महिनासम्म ३५ अर्बभन्दा बढी बीमा शुल्क आर्जन

NMB Bank
  • BFIS News
  • 2025 Sep 27 07:17
जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि, भदौ महिनासम्म ३५ अर्बभन्दा बढी बीमा शुल्क आर्जन
National Life

काठमाडौं, ११ असोज – चालु आर्थिक वर्षको भदौ महिनासम्ममा देशका जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो वर्षको तुलनामा १७.१५ प्रतिशतले बढी हो।

Shikhar
NIMB

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। यस वर्षको समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा सबैभन्दा बढी, २८३ प्रतिशत वृद्धि देखिएको छ। कम्पनीले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा यो रकम १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ मात्र थियो।

राष्ट्रिय जीवन बीमा पछि आइएमई लाइफ इन्स्योरेन्सले ३१.८५ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १८.६४ प्रतिशत व्यवसाय वृद्धि गरेका छन्। त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले १७.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ११.२१ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सले ११.१० प्रतिशत, मेट लाइफले ९.८६ प्रतिशत, सूर्यज्योति लाइफले ९.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफले ९.१९ प्रतिशत, नेपाल लाइफले ७.१५ प्रतिशत, एलआइसी नेपालले २.६२ प्रतिशत, हिमालयन लाइफले २.२३ प्रतिशत र एशियन लाइफले ०.८३ प्रतिशत बीमा शुल्क आर्जन वृद्धि गरेका छन्।

यता, सन नेपाल लाइफ इन्स्योरेन्सको व्यवसायमा भने २२.१७ प्रतिशतको गिरावट आएको छ। प्रकाशित तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको मात्रै कुल बीमा शुल्क संकलन घटेको हो।

लघु बीमा व्यवसायमा पनि उल्लेखनीय उचाइ

लघु बीमा क्षेत्रमा लिबर्टी माइक्रो लाइफले सबैभन्दा उत्कृष्ट प्रगति गरेको छ। कम्पनीले चालु आवको भदौसम्ममा ४ करोड ३८ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा ३४३ प्रतिशत वृद्धि हासिल गरेको हो।

त्यस्तै, क्रेस्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफले समान रूपमा ५ करोड ६३ लाख रुपैयाँ संकलन गरेका छन्। तथापि, वृद्धि दरको हिसाबले क्रेस्टले उत्कृष्ट प्रदर्शन गरेको छ। गत वर्ष क्रेस्टले भदौमा २ करोड ६३ लाख रुपैयाँ संकलन गरेको थियो भने गार्डियनले ३ करोड ३३ लाख रुपैयाँ।

बीमा क्षेत्रको समग्र वृद्धिदर सकारात्मक देखिए पनि केही कम्पनीहरूको प्रदर्शन कमजोर रहँदा प्रतिस्पर्धा अझ चर्किने संकेत देखिएको छ। बीमा प्राधिकरणले यस्ता विवरणहरू सार्वजनिक गरी बीमा क्षेत्रमा पारदर्शिता कायम राख्ने प्रयास जारी राखेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया