जेनजी क्षतिको सबै दाबी सहजै भुक्तानी गर्न सक्ने अवस्थामा छौं, तिहार अगाडी तीन अर्ब दिन्छौ: पुनर्बीमा सिइओ थापा
- अरुण सापकोटा
- 2025 Oct 14 17:05

काठमाडौं। पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनबाट भएको क्षतिबाट ठुलो रकम भुक्तानी गर्नुपर्ने भएकाले कम्पनी ठूलो नोक्सानीमा पर्ने अड्कल लगाइए पनि यथार्थ भने त्यसको नरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापाले बताएका छन्।
उनका अनुसार नेपाल पुनर्बीमा कम्पनी अहिलेका सबै दाबी सहज रूपमा भुक्तानी गर्न सक्ने अवस्थामा छ। “अहिलेसम्म हामीलाई फाइनल रिपोर्ट प्राप्त भएको छैन, त्यसैले ठ्याक्कै यति दाबी पर्यो भन्न गाह्रो छ,” थापाले भने, “नेपाल बीमा प्राधिकरणले संकलन गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा हेर्दा बीमा कम्पनीहरूले आफ्ना सर्भेयरमार्फत मूल्याङ्कन गरिरहेका छन्। त्यसपछि मात्रै तिर्ने रकम निर्धारण हुनेछ।”
थापाका अनुसार कम्पनीसँग पर्याप्त रेट्रो कभर (Retro Cover) रहेको छ, जसले गर्दा आन्दोलनबाट भएको क्षतिलाई सहज रूपमा ब्यहोर्न सकिन्छ। “हामीले सबै जोखिम आफैं बहन गर्ने होइन, त्यसैले रेट्रो गरेर जोखिम बाँडफाँड गरिएको हुन्छ,” उनले स्पष्ट पारे।
हाल बीमा कम्पनीहरूले क्षतिग्रस्त क्षेत्रको अवस्थाअनुसार एडभान्स भुक्तानी सुरु गरिसकेका छन्। “कतिपयले कुनै कुनै जोखिमको पूर्ण दाबी भुक्तानी समेत गरिसकेका छन्। हामीले पनि बीमा कम्पनीहरूलाई एडभान्स रकम उपलब्ध गराउन थालिसकेका छौं,” थापाले बताए। उनका अनुसार कम्पनीले हालसम्म डेढ अर्ब रुपैयाँ वितरण गरिसकेको छ र तिहारसम्ममा तीन अर्ब रुपैयाँ प्रदान गर्ने योजना छ।
थापाले हाल नेपाल पुनर्बीमा कम्पनीले विदेशी पुनर्बीमा कम्पनीहरूलाई जानकारी मात्र गराइरहेको बताए। “फाइनल तथ्याङ्क आउनुअघि नै रकम दाबी गर्दा भविष्यमा थप भुक्तानी गर्नु पर्ने जोखिम हुन्छ। त्यसैले अहिले जानकारी मात्रै पठाइरहेका छौं र अन्तिम सेटलमेन्टपछि सबै दाबी गर्नेछौं,” उनले भने।
नेपाल पुनर्बीमा कम्पनीका अनुसार अहिले आरएसएच इन्ड्रष्ट्रीज अन्तर्गतका बीमाको सबै दाबी कम्पनीमाथि आएको छ। हुलदंगा तथा आतङ्कजन्य घटनाबाट हुने क्षति बीमाको कभरेजमा पर्ने हुँदा त्यस्तो जोखिममा बीमा कम्पनीहरूले ३५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले ६५ प्रतिशत हिस्सा वहन गर्नुपर्ने व्यवस्था छ। यसमा पनि कम्पनीहरुले ट्रिटी गरेका हुन्छन्। ट्रिटी कसरी गरिएको छ भन्ने कुराले पनि पुनर्बीमा दाबी पाउने कुरालाई निर्धारण गर्छ। यो कम्पनी पिच्छे फरक फरक हुन्छ।
थापाका अनुसार बीमा गर्दा विभिन्न शिर्षकमा जोखिम विभाजन गरिएको हुन्छ। आर्थिक वर्ष २०८२/८३ देखि बीमा कम्पनीहरूले दुई पुनर्बीमा कम्पनीमा ४/४ प्रतिशत अनिवार्य पुनर्बीमा गर्नुपर्ने नियम लागू भएको छ। गत वर्षसम्म यो दर ६ प्रतिशत मात्र थियो।
कम्पनीको लाभांशमा असर पर्नेसम्बन्धी प्रश्नमा थापाले भने, “आन्दोलनको प्रभाव हामीलाई मात्रै नभएर सबै क्षेत्रमा परेको छ। कम्पनीले दैवी विपत्ती कोष, विशेष किसिमका कोषजस्ता विभिन्न शीर्षकमा रकम छुट्याएर राखेको छ, जसले जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँछ।"
नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडा कोषमा ४ अर्ब ६७ करोड रुपैयाँ, दैवी विपत्ती कोषमा ३७ करोड ८८ लाख रुपैयाँ र शेयरधनीलाई वितरण गर्न मिल्ने रिटेन अर्निङमा ७४ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको २०८१/८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले असार मसान्तसम्मको वित्तीय विवरण भने अझै सार्वजनिक गरेको छैन।
थापाले अन्त्यमा भने, “हामी तिर्न सक्छौं सबै जना ढुक्क हुनुहोस्। नेपाल पुनर्बीमा कम्पनीका लागि यो व्यवस्थापन गर्न सकिने दायरा भित्रको क्षति हो।”
प्रतिक्रिया