२६ वर्षमै मन्त्री: बब्लु गुप्ता नेपालको इतिहासकै सबैभन्दा कान्छा मन्त्री
- BFIS News
- 2025 Oct 26 17:24
काठमाडौँ, कात्तिक ९ — सिराहा स्थायी घर भएका २६ वर्षीय बब्लु गुप्ता नेपालको इतिहासमै सबैभन्दा कान्छा मन्त्री बनेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई संघीय युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेपछि उनले सोही दिन अपराह्न पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन्।
अभियानीका रूपमा परिचित गुप्ता परोपकारी संस्था ‘हन्ड्रेड्स ग्रुप’का संस्थापक हुन्। उक्त संस्थाले प्रयोगमा आइसकेका कपडाहरू संकलन गरी असहाय, विपन्न तथा दिनदुःखीहरूलाई वितरण गर्दै आएको छ। उनले यो अभियान २०७६ सालमा काठमाडौंको अनामनगरबाट सुरू गरेका थिए। यो सेवा विशेषगरी बाढी–पहिरो र विपत्तिका बेला प्रभावकारी बनेको थियो र पछि कर्णाली प्रदेशसहित देशका अन्य भागमा पनि विस्तार गरिएको थियो।
सामाजिक सेवामा सक्रिय गुप्ताले कोभिड–१९ महामारीका समयमा खुलामञ्चमा निःशुल्क भोजन वितरण अभियान सञ्चालन गरेका थिए। लकडाउनका बेला उनका प्रयासहरूले संकटमा परेका सयौं सर्वसाधारणलाई राहत पुर्याएको थियो।
त्यसअघि उनले रगत आपूर्तिको समस्या भोगिरहेका बिरामीहरूका लागि रगत खोजिदिने काम गर्दै आएका थिए। साथै, उनले ‘किताब बैंक’ को अवधारणा पनि ल्याएका छन् — पढिसकिएका किताबहरू संकलन गरी अरूलाई उपयोगी हुने गरी वितरण गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो।
हालै गुप्ताको समूहले ‘प्रोजेक्ट शिक्षा’ सुरु गरेको छ, जसअन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार र असहाय बालबालिकाहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ। अहिले यस परियोजनामा सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।
मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने क्रममा मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय र त्यसअन्तर्गतका सबै निकायका बैठकहरूलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णयसमेत गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् हालसम्म १० सदस्यीय बनेको छ। भदौ २३ र २४ गते ‘जेनजी पुस्ता आन्दोलन’पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।
२६ वर्षकै उमेरमा मन्त्री बनेका बब्लु गुप्ताको यो उपलब्धि नेपाली राजनीतिमा युवाको प्रतिनिधित्वको नयाँ अध्यायका रूपमा हेरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया