Nepal Life

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्म विवरण अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 24 21:01
डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्म विवरण अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ। यससँगै हाल सञ्चालनमा रहेका वालेट प्रयोगकर्ताले पनि आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण २०८३ असोज मसान्तभित्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था लागू गरिएको छ।

Nepal Life
NIMB

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित एकीकृत निर्देशन, २०८२ अनुसार सबै डिजिटल वालेट सेवा प्रदायकले आफ्ना ग्राहकको ‘नो योर कस्टमर (केवाईसी)’ विवरणमा राष्ट्रिय परिचयपत्र समावेश गर्नुपर्नेछ। यसअघि दर्ता भइसकेका प्रयोगकर्ताले पनि तोकिएको समयसीमाभित्र आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

केन्द्रीय बैंकले पुराना प्रयोगकर्ताका लागि २०८३ असोज मसान्तसम्मको समयसीमा तोकेको छ। निर्धारित अवधिभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था सबै वालेट सेवाप्रदायकले कार्यान्वयन गर्नुपर्नेछ।

यद्यपि विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका हकमा भने राष्ट्र बैंकले केही लचिलो प्रावधान राखेको छ। विदेशमै रहँदा अनलाइनमार्फत डिजिटल वालेट खोल्ने नेपालीले राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खाता खोल्न सक्नेछन्।

तर, त्यस्ता प्रयोगकर्ताले नेपाल फर्किएपछि ३५ दिनभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने संशोधित निर्देशनमा स्पष्ट गरिएको छ।

राष्ट्र बैंकको यो व्यवस्था कार्यान्वयनसँगै डिजिटल वालेट प्रयोगकर्ताको पहिचान प्रमाणीकरणलाई थप प्रभावकारी बनाउने, वित्तीय कारोबारमा पारदर्शिता बढाउने तथा नियामकीय अनुपालनलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया