बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्सका चिफ एजेन्सी म्यानेजर सुभाष रिजाल
- आयुश बस्नेत
- 2025 Nov 06 15:53
काठमाडौं । नेपालजस्तो विकासशील देशका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ। आकस्मिक जोखिमका बेला आर्थिक सहारा प्रदान गर्दै यसले समाजमा गरिबी न्यूनिकरणमा महत्वपूर्ण योगदान पुर्याउँछ। यही चेतनालाई आत्मसात् गर्दै बुटवलका युवा बीमा व्यवसायी सुभाष रिजाल पछिल्ला वर्षहरूमा बीमालाई “महाअभियान” का रूपमा अगाडि बढाइरहेका छन्।
विगत सात वर्षदेखि जीवन बीमा क्षेत्रमा सक्रिय मोटिभेशनल स्पिकर रिजाल मूलतः कपिलबस्तुका हुन्। पिता समाजसेवी स्व. रामहरी रिजाल र आमा हरिकला रिजालको कोखबाट १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। कपिलबस्तुमा माध्यमिक शिक्षा, पोखरामा प्लस टु र बुटवलबाट स्नातक अध्ययन तथा त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेका उनले अध्ययनपछि पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि बीमा अभिकर्ताको पेशा रोजेका हुन्। रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सचिवालय सदस्य, सुदुरपश्चिम तथा कर्णाली प्रदेश इन्चार्ज रिजाल समाजसेवामा उत्तीकै सक्रिय छन्।
तर, उनको बीमामा प्रवेशको कथा निकै मार्मिक छ। सात वर्षअघि पाल्पाको सिद्धबाबा नजिकै गएको ठूलो पहिरोमा भएको दुर्घटनाबाट मर्माहित भए। सोही घटनामा एक जना चिकित्सक र उनकी श्रीमतीको ज्यान गएको थियो। त्यस घटनापछि जीवनको अनिश्चितताले उनलाई गहिरो रूपमा छोयो। उनले तत्काल बुटवलस्थित सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा पुगेर आफ्नै, श्रीमती र बाबुको बीमा गर्दै यस क्षेत्रमा औपचारिक यात्रा सुरु गरे।

रिजालका अनुसार, क्षेत्रीय प्रबन्धक जयदेव गौतमको मार्गदर्शनले उनलाई बीमाको महत्व अझ प्रष्ट रूपमा बुझ्न मद्दत गर्यो। कोभिड-१९ पूर्वको समयमा अभिकर्ता बनेका उनी एक महिनाभित्रै पेशागत रूपमा अगाडि बढ्ने दृढ निष्कर्षमा पुगे।
सुवास रिजालका लागि बीमा अभिकर्ता पेशा केवल व्यापार होइन, सामाजिक उत्तरदायित्व हो। उनका शब्दमा, “कसैले सामान बेचेर नाफा कमायो भने कसैले आलोचना गर्दैन, तर अभिकर्ताले नियम अनुसार पाउने कमिशनका कुरा गर्दा धेरैलाई आपत्ति हुन्छ, जुन गलत धारणा हो।” उनी भन्छन्, “यो पेशामा समय, परिश्रम र स्रोतको ठूलो लगानी हुन्छ।”
प्रारम्भिक चरणमा उनले बुटवलका प्रभावशाली व्यक्तिहरूको ठूलो बीमा गराए, तर पछि बीमा कम्पनीका क्षेत्रीय प्रमुख तथा शाखको सल्लाहअनुसार गाउँतिर पुगेर सामान्य नागरिकका लागि बीमा अभियान थाले। कपिलबस्तुको गाउँ-गाउँमा पुगेर उनले गरिब तथा विपन्न परिवारका बालबालिकाको बीमा गराउन थाले। यस क्रममा उनी सानिमा लाइफका सबैभन्दा बढी पोलिसी जारी गर्ने अभिकर्तामध्ये एक बने।
तर उनका अनुभवहरू सुखद मात्र छैनन्। उनका नजिकका केही व्यक्तिहरूले उनको सुझाव नमान्दा गुमाएका अवसरहरू पश्चात उनलाई अझ बीमाप्रति समर्पित बनायो। एक डाक्टर, एक सहकारी कर्मचारीको परिवार र उनका एक साथिको मृत्यु तथा रोगका कारण ठूलो आर्थिक क्षति भएको घटनाले उनलाई कहिल्यै पनि यो पेशाबाट विमुख हुन दिदैन। उनि भन्छन्, “यदि समयमा बीमा गराइएको हुन्थ्यो भने ती परिवारले यस्तो दु:ख भोग्नु पर्ने थिएन।”
रिजालले समाजमा चेतना फैलाउने कार्यलाई निरन्तरता दिएका छन्। उनका अनुसार, “तराईका धेरै मानिसले दैनिक ४/५ सय रुपैयाँ पान, चुरोट, रक्सीमा खर्च गर्छन्। यही रकम बचत गरे पाँच लाखको बीमा गर्न सकिन्छ।” उनी अर्घाखाँचीका दुर्गम गाउँसम्म पुगेर किसानहरूलाई एउटा बाख्राको बराबर रकम बचत गरेर बीमा गर्न प्रेरित गर्दै आएका छन्। जसले भोलिका दिनमा बालबालिकाको शिक्षा र भविष्य सुरक्षित गर्न मद्दत पुर्याउने उनि बताउछन्।

बीमालाई “जीवन सुरक्षा र सामाजिक न्याय” सँग जोड्दै सुवास रिजालले भने, “जीवन अनिश्चित छ, तर बीमाले त्यस अनिश्चिततालाई सामना गर्ने आत्मविश्वास दिन्छ।”
उनको यो सोच र अभियानले बीमालाई केवल आर्थिक उपकरण नभई सामाजिक परिवर्तनको माध्यमका रूपमा उभ्याउने विश्वास दिलाएको छ।
गाउँ–गाउँमा बीमाको महाअभियान : हजारौँको बीमा, सयौँ अभिकर्ता निर्माण
जीवनमा सफलता खोज्दै पाँच वर्ष कोरियामा पसिना बगाएका उनले अहिले नेपालमै बसेर आफ्नो सपना साकार बनाइरहेका छन्। उनका अनुसार, “बीमा भनेको केवल पैसा जम्मा गर्ने माध्यम होइन, परिवारको भविष्य सुरक्षित गर्ने जीवनशैली हो।”
रिजालले पछिल्ला वर्षहरूमा देशका विभिन्न गाउँ–गाउँ पुगेर हजारौँ मानिसलाई बीमाको दायरामा ल्याएका छन्। उनले आफैं मात्र अभिकर्ताको रूपमा काम गरेको होइन, जुन जुन गाउँमा पुग्छन्, त्यहाँ नयाँ अभिकर्ता निर्माण गरेर ठूला–ठूला टिमहरू पनि बनाइरहेका छन्। हालसम्म उनले सयौँको संख्यामा अभिकर्ता निर्माण गर्न सफल भएका छन्।
सफलताका यी कदमसँगै उनी २०२२ का लागि एमडिआरटी (MDRT) क्वालिफाइड बनेका थिए। त्यही प्रेरणाबाट अघि बढ्दै उनले आफ्नी श्रीमती राधिका पोखरेललाइ पनि यसै पेशामा अघि बढाएका छन्। सन् २०२३ मा राधिका रिजाल पनि एमडिआरटी क्वालिफाइड बन्न सफल भइन्।

रोचक कुरा के छ भने, रिजालले यतिधेरै संख्यामा बीमा गराउँदा पनि अहिलेसम्म एउटा पनि बीमा दाबी परेको छैन। अब उनले यस वर्ष आफ्नै टिमभित्रबाट कम्तिमा एक सय जनालाई एजेन्सी म्यानेजर बनाउने लक्ष्य लिएका छन्।
कोरियामा पाँच वर्ष काम गरेर फर्किएका रिजाल अहिले नेपालमै मासिक ४ देखि ५ लाख रुपैयाँसम्मको आम्दानी गरिरहेका छन्। उनी भन्छन्, “कोरियामा भन्दा पनि नेपालमै राम्रो कमाइ सम्भव छ, यदि इमानदारी र उद्देश्यका साथ काम गर्ने हो भने।”
बीमाको महत्व र सामाजिक सोच परिवर्तनको अभियान
रिजालले सहरीदेखि ग्रामीण भेगसम्म एजेन्सी विस्तार गरिसकेका छन् र निकट भविष्यमा देशभर एजेन्सी निर्माण गर्ने लक्ष्य बोकेका छन्। उनले गाउँमा पुग्दा मानिसहरूले “फजुल खर्च गर्न त पैसा हुन्छ, तर बीमा गर्न भने समय र सोच दुवै अभाव” रहेको महसुस गरेका छन्।
उनको भनाइमा, “मानिसहरूले खुशी साना साना जमघटमा कुखुरा, खसी काट्छन्, रक्सी पिउँछन्, चुरोट, पान खान्छन्, तर बीमा भने भिजेको बिरालोझैँ टार्छन्।”
सुरुवाती समयमा केही अभिकर्ताले बीमाको रकम कम्पनीसम्म नपुर्याउने जस्ता घटनाले जनमानसमा नकारात्मक धारणा सिर्जना गरेको उनि बताउँछन्। त्यस्ता घटनाले गर्दा धेरै मानिसहरू आज पनि बीमा प्रति अविश्वासी छन्।
तर, रिजाल ती सबै भ्रम र गलत बुझाइलाई तोड्न गाउँ–गाउँ पुगेका छन्। उनी भन्छन्, “कतिपय अवस्थामा अरूले गरेका गल्तीका लागि म आफैंले उत्तर दिनुपर्छ। त्यसरी बुझाएर, सम्झाएर, बीमाको वास्तविक अर्थ बुझाउनुपर्छ।”

‘बीमाले मात्र आर्थिक रुपान्तरण सम्भव’
रिजालले धेरै गाउँमा हिजो हजुरबुबा, बुबा, छोरा, नातिसम्म पनि भरियाकाम गरेर गुजारा चलाइरहेको देखेका छन्। उनी भन्छन्, “रुपान्तरणको एक मात्र उपाय बीमा हो।” कतिपय ठाउँमा शिक्षा र योग्यता अभावले गर्दा अभिकर्ता बनाउन पनि कठिनाई भएको उनी बताउँछन्।
उनको “बीमाको महाअभियान” केवल बीमा बेच्ने अभियान होइन, मानिसको जीवनस्तर उकास्ने सामाजिक आन्दोलन हो। उनले विद्यालय, क्लब र स्थानीय समूहहरूसँग मिलेर बीमाको सन्देश पुर्याइरहेका छन्। उनको भनाइमा, “बीमा गर्नु भनेको आफ्नो जीवनको सुरक्षा गर्नु हो, चन्दा उठाएर उपचार खोज्नु होइन।”
सहकारी र बचत समूहहरू डुबेका, अव्यवस्थित भएका घटनाले पनि बीमा तर्फको विश्वास घटाएको उनले बताउँछन्। त्यसैले उनी अब गाउँ–गाउँमा गएर जनतालाई बीमाको वास्तविक फाइदा बुझाउँदैछन्।
‘बीमा नगर्दा भोलि परिवार सडकमा आउँछ’

उनको दृष्टिमा, “यदि सबैले बीमा गर्ने हो भने समाजमा आर्थिक क्रान्ति आउँछ।” उनले थपे, “बीमा गर्ने हो भने मानिस काममा अझ जिम्मेवार हुन्छ, बचतको बानी बस्छ र आर्थिक स्थायित्व आउँछ।”
रिजालका अनुसार, मानिसहरू खर्च गरेर गरिब भएका हुन्। उनले भने, “यदि कमाएको रकमको केही हिस्सा बीमा मार्फत बचत गर्न सकियो भने गरिबी घट्छ, परिवार सुरक्षित हुन्छ।”
यसैले उनी अहिले “गरिब बस्ती, छाप्रा छाप्रा” सम्म पुगेर बीमाको सन्देश फैलाइरहेका छन्। “यो केवल पेशा होइन, सामाजिक रुपान्तरणको महाअभियान हो,” रिजालको दृढ भनाइ छ।
रिजालको यो समर्पण र दृष्टिकोणले नेपालका गाउँ–गाउँमा आर्थिक सचेतना र सामाजिक सुरक्षा दुवै बढाउँदैछ। यस्तो अभियानले देशमा बीमाको संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने आशा गर्न सकिन्छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया