Nepal Life

सुकेटार विमानस्थलमा उडान तालिका थप

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Nov 11 12:54
सुकेटार विमानस्थलमा उडान तालिका थप

फुङलिङ, कात्तिक २५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा अब सातामा दुई दिन उडान हुने भएको छ। पहिले शुक्रबार मात्र सञ्चालन हुँदै आएको नेपाल वायुसेवा निगमको ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङ उडान अब सोमबार पनि सञ्चालन हुने भएको हो।

Nepal Life
NIMB

निगमको ग्राउण्डेड रहेको जहाज मर्मत सम्पन्न भई पुनः सञ्चालनमा आएसँगै उडान तालिका थप गरिएको ताप्लेजुङका स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल साताको शुक्रबार र सोमबार गरी दुई दिन नियमित उडान हुने व्यवस्था गरिएको छ।

कार्कीका अनुसार निगमसँग रहेका दुईवटा ट्विनअटर जहाज सञ्चालनमा आएपछि यात्रुको चापलाई ध्यानमा राखी तालिका विस्तार गरिएको हो। साताको बुधबार समेत उडान थप गर्न प्रस्ताव गरिएको र केन्द्रबाट स्वीकृति आउन बाँकी रहेको उहाँले बताउनुभयो। प्रस्ताव स्वीकृत भए सातामा तीन दिन उडान हुनेछ।

यसैबीच, सोमबारका लागि तय गरिएको नियमित उडान प्राविधिक कारणले मङ्गलबार सारिएको थियो। उक्त उडानमार्फत काठमाडौँबाट सात जना यात्रु ताप्लेजुङ आएका र ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन्।

हाल मौसममा सुधार आएसँगै निगमका दुवै जहाज सञ्चालनमा रहेका कारण सातामा न्यूनतम दुईवटा उडान हुने र यात्रुको चाप बढेमा बुधबारसमेत तालिका थप गर्न सकिने इञ्चार्ज कार्कीले जानकारी दिनुभयो। आगामी नियमित उडान भने शुक्रबारका लागि तय गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया